– विजय थापा
वाशिंगटन डिसी । डिसी महानगर क्षेत्रमा रहेका नेपाली संचार माध्यमहरूको पहलमा पेशागत पत्रकारहरूको प्रतिष्ठित सञ्जाल सोसाइटी अफ प्रोफेशनल जर्नलिस्ट एसपीजेकी अध्यक्ष रिबेका बेकरको प्रमुख आतिथ्यमा वाशिंगटन डिसीमा २५ औं “विश्व प्रेस स्वतन्त्रता दिवस” मनाइएको छ ।
नेपाली अमेरिकी पत्रकारहरूको इतिहासमा यसरी कुनै अन्तरराष्ट्रिय स्तरको संस्था समेतको प्रतिनिधित्वमा प्रेस स्वतन्त्रता दिवस मनाइएको यो पहिलो पटक हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै अध्यक्ष बेकरले यसरी कुनै पनि डायस्पोरा समाजले आफूलाई अतिथिको रुपमा बोलाएको यो पहिलो पटक भएको र आफू नेपाली अमेरिकी पत्रकाहरूसंग सहकार्य गर्न अत्यन्तै इच्छुक रहेको बताए । आफ्नो पहिलो सहकार्यको रुपमा एसपीजेको बुकलेट नेपालीमा उल्था गर्न डिसी क्षेत्रका पत्रकारहरूलाई जिम्मा दिन आफू सहमत भएको र विस्तारै पत्रकारलाई मूल प्रवाहमा लैजान तालिम र अन्य कार्यहरू गर्नको लागि काम गर्दै जाने बचनबद्धता पनि व्यक्त गरे ।
सन १९०९ मा स्थापना भएको सोसाइटी अफ प्रोफेशनल जर्नलिस्ट एसपीजे अमेरिकामा पेशागत पत्रकारहरूलाई प्रतिनिधित्व गर्ने धेरै पुरानो संस्थाको रुपमा चिनिन्छ । एसपीजेले दिंदै आएको सिग्मा डेल्टा ची पत्रकारिता पुरस्कार संसारकै प्रसिद्ध पुरस्कारको रुपमा मानिन्छ । स्थापनाकालमा सिग्मा डेल्टा ची भनिने यो संस्थाले अमेरिकाको वाक स्वतन्त्रता सम्बन्धी पहिलो संविधान संसोधनको खुलेर समर्थन गरेको थियो । पत्रकारिताको पढाइ हुने सवै जसो विश्व विद्यालय र पेशागत एवं स्वतन्त्र पत्रकारहरु समेतलाई आफ्नो छातामा समेटेको यो संस्थाका ३ सय बढी शाखाहरू छन् भने तिनमा आवद्ध करीव ९ हजार संचारकर्मीहरू यसका सदस्य रहेका छन् । यस्तो संस्थासंगको सम्बन्धको आधारमा संसारभरनै रहेका पत्रकारहरूलाई लावान्भित बनाउने प्रयास आफूहरूको रहेको विचार आयोजकहरूले व्यक्त गर्नु गरेकाछन् ।
अर्का अतिथि भर्जिनियाको जर्ज मेसन युनिभर्सिटीका प्रोफेसर क्रिष्टोफर जे फरेलले पनि अमेरिकी पत्रकारिताको वर्तमान अवस्थाका बारेमा विचार व्यक्त गर्दै पत्रकारको सवैभन्दा ठूलो कुरा आफूले विचार निर्माण गर्न सक्नु र अरुलाई सही चेतना दिनु भएकोले तथ्यको जड पत्ता लगाउन पत्रकारहरुले जहिले पनि लागिपर्नु पर्ने कुरा बताए । उनले आफ्नो विश्व विद्यालयले अन्तरराष्ट्रिय पत्रकारहरूलाई गर्न सक्ने सवै सहयोग गर्ने विचार व्यक्त गरे ।
उत्तरी भर्जिनियामा लोकप्रिय मानिएको इन्साइड नोभा पत्रिकाका प्रकाशक तथा सम्पादक ब्रुस पोर्टरले आफ्नो स्थानीय क्षेत्रमा रहेका नेपाली पत्रकारहरूलाई निशंकोच आफ्नो कार्यालयमा आउन र छलफल गर्न अनुरोध गरे । उनले चार–पांच जनासम्म स्थानीय पत्रकारहरूलाई स्वयंसेवक वा तलवी पत्रकारको रुपमा प्रवेश गराउन समेत तयार रहेको बताउंदै तर प्रविधि र संचारको परिवर्तन भएकोले आफ्नो संस्थाले अरु संचारका प्रविधिसंग कडा प्रतिस्पर्धा गरिरहनु परेको जानकारी गराए ।
कार्यक्रममा पत्रकारद्वय गुणराज लुइटेल र सच्ची मैनालीले संयुक्त रुपमा नेपाली अमेरिकी परिवेशमा प्रेस स्वतन्त्रता र व्यवसायिकता विषयक कार्यपत्र प्रस्तुत गर्दै नेपालको पत्रकारिताको इतिहास, प्रेस स्वतन्त्रता उल्लंघनको परिदृष्य, अमेरिकी नेपाली पत्रकारिताको अवस्था र चुनौतीका विषयमा प्रष्ट पार्ने काम गरेका थिए । कार्यपत्रमा उनीहरूले नेपाली अमेरिकी पत्रकारहरूले अमेरिकी संचारको मूल प्रवाहमा जान प्रयास गर्नु पर्ने र यसको लागि अन्तर्राष्ट्रिय संस्थाहरूसंग सहकार्य गर्नुपर्ने कुरा उल्लेख गरे ।
अमेरिकामा सन १९९६ मा पहिलो पटक सगरमाथा नामक टिभी कार्यक्रम संचालन गर्नु भएका पत्रकार राम खरेल, पहिलो नेपाली अनलाइन पत्रिका नेपालीपोष्ट दर्ता गर्नु भएका पत्रकार गिरिश पोखरेलले समेत विचार व्यक्त गरे । सो विचार गोष्ठीमा नेजाका अध्यक्ष भोला आचार्यले यस्तो सफल कार्यक्रम गरेकोमा डिसी क्षेत्रका पत्रकारहरुको प्रशंसा गरेका थिए ।
सो विचार गोष्ठीमा नेजाका अध्यक्ष भोला आचार्यले यस्तो सफल कार्यक्रम गरेकोमा डिसी क्षेत्रका पत्रकारहरूको प्रशंसा गरेका थिए । त्यस्तै, वाशिङटन डिसी महानगर क्षेत्रमा नेपाली समुदायहरूलाई सेवा प्रदान गर्दै आएको सबै भन्दा पुरानो संस्था – नेपाल अमेरिका सोसाईटीका तर्फबाट सोसाईटीका अध्यक्ष प्रभा भट्टराई देउजाले एसपिजेसंग नेपाली पत्रकारहरूको सहकार्यले समुदाय लाभान्वित हुने र पत्रकारिता अध्यन गर्दै आएका समूदायका सदस्यहरूलाई तालिम तथा ईन्टर्नशिपको ब्यबस्था गर्न आग्रह गरे ।
स्थानीय संचार माध्यमको संयोजन पत्रकार गुणराज लुइटेलले गरेका थिए । कार्यक्रम संचालन न्युयोर्कस्थित पत्रकार किरण मरहट्ठाले गरे । त्यस्तै कार्यक्रमको प्रचार प्रसार र स्थानीय संघ संस्थाहरूसँगको समन्वय सन्चारकर्मी सुनिलमणि दाहालले गरे ।
विचार गोष्ठीको प्रश्न उत्तर सेग्मेण्टको मोडरेट कार्यक्रक्रमका सभापति वरिष्ठ पत्रकार योगेश उपाध्यायले गरेका थिए । प्रचार प्रसारको संयोजन पत्रकार विजय थापाले गरेका थिए । अन्तरक्रियाको माध्यममा भएको सो विचार गोष्ठीमा उपस्थित धेरै पत्रकारहरूले अतिथिसंग एसपीजेको सदस्यता, सहकार्य र अमेरिकी प्रेस सम्बन्धी जिज्ञासाहरु राखेका थिए ।
एसपीजे अध्यक्ष बेकरले पेशागत पत्रकारहरुलाई सदस्यताको लागि आह्वान पनि गरे । आयोजकहरूले यस विचार गोष्ठीमा एसपिजे लगायत अन्तर्राट्रिय संस्थाहरूसंग भएको अन्तरक्रिया, छलफल र परामर्शको निचोड निकाल्दै चांडैने डिसी घोषणापत्र जारी गर्ने कुरा बताएका छन् ।
विगत २५ वर्षदेखि संयुक्त राष्ट्र संघ युनेस्कोले मनाउदै आएको विश्व प्रेस स्वतन्त्रता दिवसको यस पटकको नारा शक्तिको सन्तुलनः संचार, न्याय र कानूनको शासन भन्ने राखिएको छ ।
हालै भर्जिनियाको रिचमण्डमा भएको एसपीजे र भर्जिनिया प्रेस एसोसिएसनको सम्मेलनमा नेपाली पत्रकारहरू योगेश उपाध्याय, गुणराज लुइटेल, किरण मरहट्ठा र विश्व थापाले सहभागिता जनाएर आएपछि नेपाली पत्रकारहरूको संस्थागत रुपले नै अमेरिकी पत्रकारिता क्षेत्रमा प्रवेशको श्रृंखला शुरु भएको थियो ।
उक्त कार्यक्रम डिसी लगायत बिभिन्न राज्यहरुका नेपाली विद्युतीयपत्रिका को साथै अमेरिकन मूल धारका इन्साइड नोभा अमेरिकी पत्रिका, फेयरफाक्स कनेक्सन अमेरिकन पत्रिका समेत रहेका थिए ।















प्रतिक्रिया