२२ कार्तिक २०८३, आइतबार

शरणार्थी फिर्ता गर्न नेपालले पहल गर्नुपर्छ : भुटानी नेता रिजाल

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ वैशाख । निर्वासित भुटानी नेता टेकनाथ रिजालले नेपालमा रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ता गराउन नेपाल सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताउनुभएको छ ।

यहाँ आइतबार पत्रकार सम्मेलन गरी नेता रिजालले नेपाली मूलका भुटानी निर्वासित भई लामो समयदेखि शरणार्थीका रुपमा जीवन बिताउनु परेकामा चिन्ता व्यक्त गर्दै समस्या समाधानका लागि नेपाल र भारत सरकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हुन लागेको नेपाल भ्रमणका क्रममा शरणार्थी व्यवस्थापनमा कूटनीतिकरुपमा प्रस्ताव गरी छलफल भएमा समस्या समाधान हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

करीब एक लाख १२ हजार शरणार्थीलाई विभिन्न देशमा पुनर्वास गराइएको जानकारी दिँदै नेता रिजालले भन्नुभयो, “अहिले बेलडाँगीमा करीब १० हजारको हाराहारीमा शरणार्थी छन्, उनीहरु स्वदेश फिर्ता हुन चाहन्छन्, नेपाल सरकारको सहयोगको खाँचो छ ।” उहाँले नेपाल र भारत दुवै मुलुकका प्रधानमन्त्रीलाई शरणार्थी समस्या समाधानका लागि पत्राचार गरेको जानकारी दिँदै अन्तर्राष्ट्रिय समुदायले पनि सो विषयलाई लिएर आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सन् १९८५ देखि आफू निर्वासित भएको भए पनि पञ्चायती सरकारले समातेर भुटान सरकारलाई बुझाएपछि १० वर्ष जेलमा बन्दी भएको स्मरण गर्दै एक लाख भन्दा धेरै शरणार्थीको नेतृत्व आफूले गरेर धेरैलाई शरणार्थी कार्ड उपलब्ध गराएको भए पनि आफूसँग सो कार्ड प्राप्त नभएका कारण दयनीय जीवन भोग्नुपरेकाले सहयोगको अपेक्षा गर्नुभयो । –रासस