वीरगन्ज, १४ पुस । घरभित्र रहेको मसान भगाउनका लागि पूजा गर्ने भन्दै कैलालीको धनगढीबाट लुटिएको गहनामध्ये केही गहना वीरगन्ज पथलैया औद्योगिक क्षेत्रको जितपुरबाट प्रहरीले बरामद गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल हमालकी पत्नी शारदालाई झुक्याएर मङ्सिर २६ गते लुटिएको ५१ तोलामध्ये ३१ तोला गहना आइतबार इलाका प्रहरी कार्यालय सिमराले बरामद गरेको हो ।
प्रहरी निरीक्षक कुमारविक्रम थापाले सूचनाका आधारमा जितपुरस्थित इसरायल मियाँको घरबाट गहना बरामद भएको जानकारी दिनुभयो ।
उहाँले घटनामा संलग्न इसरायलकी पत्नी ३१ वर्षीया तैरुन नेसा र उनकी बहिनी २६ वर्षीया खैरुन नेसा र पति इसरायल पनि फरार रहेको बताउनुभयो । अरू २० तोला गहना र लुटेराको खोजी भइरहेको थापाको भनाइ छ ।
घटनाको अनुसन्धानका लागि आएका जिल्ला प्रहरी कार्यालय धनगढीका प्रहरी नायब निरीक्षक निरक रावलका अनुसार लुटिएका गहनाको विवरण जाँच गर्दा थुप्रै गहना गायब छन् । गहना कसरी गायब भयो भन्नेमा आफूलाई थाहा नभएको रावलको भनाइ छ । रासस















प्रतिक्रिया