सन्तोष कुमार
सिरहा, १३ पुस । सिरहाको लहान नगरपालिका ४ स्थित बलान नदीबाट प्रहरीले गएराति ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक भरियालाई प्रहरीले पक्राउ गरेको छ । अन्य केही भरिया भने फरार भएका छन् ।
ईलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार पक्राउ पर्नेमा नहरा रिगौल गाविसका २५ बर्षीय पवनकुमार भगत रहेका छन् । स्रोतका अनुसार भगत भरिया हुन् । उनीसँग ६ वटा बोरामा प्याक गरिएको करिब १ क्विनटल १० किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
विशेष सुराकीको आधारमा बलान नदीबाट गाँजा सहित एक यूवकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक निरौलाले जानकारी दिए । उनले भने, ‘प्रहरीको टोली देखेपछि अन्य गाँजा तस्करहरु फरार भयो । भगतलाई हामीले लखेटेर पक्राउ गर्न सफल भएका छौं ।’
उदयपुरबाट बलान नदी हुँदै गाँजा भारत तस्करी हुने गरेको स्रोतको दावी छ । बलान नदीबाट पटक पटक गाँजासहित भरिया पक्राउ पर्ने गरेका छन् । तर तस्कर भने फरार हुन्छ । यसले पनि पुष्टि हुन्छ कि बलान नदी गाँजा तस्करीको मूल बाटो हो ।















प्रतिक्रिया