
लमजुङ । जातीय विभेद अन्त्यका लागि लमजुङमा निर्माण हुन लागेको गुरुङ फिल्म ‘मेदों’ को शुक्रबार शुभमूहर्त गरिएको छ । गुरुङ समुदायभित्र रहेको जातीय विभेदलाई समेटिने गरि पहिलो पटक जिल्लामा स्थापना भएको मेदों फिल्म कम्पनीद्धारा निर्माण हुने ‘मेदाें’ (सिट्ठा) को गुरुङ समुदायका अग्रज समाजसेवी क्याप्टेन रणबहादुर गुरुङले शुभमूहर्त गरे ।
शुभमूहर्तमा गुरुङले फिल्म निर्माण गर्न सहज नरहेको अवस्थामा जिल्लाका युवाहरुको सक्रियतामा फिल्म बन्नु राम्रो पक्ष रहेको बताए । उनले गुरुङ जातिको कला, सँस्कृतिको विकास गर्ने खालको उत्कृष्ट फिल्म बनाउन आग्रह गरे । जातीय विभेदलाई लिएर निर्माण हुन लागेको फिल्मले सबैको मन जित्नुपर्ने बताए ।
कार्यक्रममा तमु प्ये ल्हु संघ लमजुङका अध्यक्ष क्याप्टेन मिलबहादुर गुरुङ, तमु ह्युला छोजधीं गुरुङ राष्ट्रिय परिषद्का उपाध्यक्ष राजबहादुर गुरुङ, गुरुङ फिल्म एसोसिएन जिफानका अध्यक्ष टिकाराम घले लगायतले युवाद्धारा गुरुङ जातिको पहिचानका लागि फिल्म निर्माण गर्नु उदाहरणीय रहेको बताएका थिए । उनीहरुले आफ्नो पहिचान, कला सँस्कृतिको विकासका लागि सहकार्यका साथ अघि बढ्ने बताएका थिए ।

‘मेदों’ फिल्ममा खेमराज घले, मन्जु गुरुङ, किशोर गुरुङ, योगीता गुरुङ, टिकाराम घले, सोममाया गुरुङ, देउमाया गुरुङ लगायतको अभिनय रहने जनाएको छ । फिल्मको सह निर्देशकमा करण गुरुङ (गोरा), निर्मातामा आनन्दमाया गुरुङ, पबि गुरुङ (पवित्रा), मुना गुरुङ, खड्क गुरुङ (मिरु) रहनुभएको छ ।
फिल्मलाई खिमबहादुर गुरुङले छायाँकन गर्नेछ भने नृत्य निर्देशक भारती घलेको रहनेछ । श्रृंगार आशिस गुरुङको रहनेछ भने गीत शंकर गुरुङ ‘बतासे’ र आश गुरुङको रहेको छ ।फिल्म निर्माणमा करिब २१ लाख लागत लाग्ने बताइएको छ ।















प्रतिक्रिया