नेपालगञ्ज, १३ पुस । राप्रपा नेपालसँग असन्तुष्ट बनेको पद्मसुन्दर लावती समूहले अध्यक्ष कमल थापाको पुत्ला दहन गरेको छ ।
थापाले हिन्दू राष्ट्रको नाममा जनतालाई धोका दिएको, व्यापार गरेको र देशव्यापी चन्दा उठाएर भ्रष्टाचार गरेको भन्दै सो समूहले थापाको पुत्ला दहन गरेको हो ।
लावतीले गठन गरेको राप्रपा नेपाल सुदढीकरण अभियान बाँके जिल्ला कार्यसमितिको नेतृत्वले त्रिभुवन चोकमा थापाको पुत्ला जलाइएको हो । राप्रपा नेपालको रथायात्रा आइतबार नेपालगञ्ज पुग्दैछ । यही मौका पारेर सो समूहले थापाको पुत्ला दहन कार्यक्रम गरेको हो ।
पुत्ला दहन कार्यक्रममा लावती समूहका कार्यकर्ताले, हिन्दू राष्ट्र जिन्दावाद ! भ्रष्ट कमल थापा मुर्दावाद ! भन्दै नारावाजी समेत गरेका थिए ।
पुत्ला जलाउनुपूर्व सम्पन्न आमसभामा नेताहरुले थापाले बाटो बिराएको र राप्रपा नेपालको मूलभूत सिद्धान्तमा संझौता गरेको आरोप लगाएका थिए ।
भगवान कृष्ण र अर्जुनभन्दा ठूलो फोटो राखेर आफ्नो प्रचार गर्दै भगवान र धर्मको थापाले अपमान गरेको पनि ती नेताहरुले आरोप लगाएका थिए ।
संविधान लेखन प्रक्रियाको महत्वपूर्ण चरणमा प्रवेश गरेका बेला संविधानसभा छलेर बाटो–बाटो हिन्दू राष्ट्र पूनःस्थापन गर्छु भन्नु हास्यास्पद भएको लावतीका छोरा तथा राप्रपा असन्तुष्ट समूहका नेता सगुनसुन्दर लावतीले आरोप लगाए ।
















प्रतिक्रिया