पोखरा, २० वैशाख । विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३) का सन्दर्भमा नेपाल पत्रकार महासंघ कास्कीद्वारा बिहीबार यहाँ आयोजित ‘वर्तमान परिवेशमा प्रेस स्वतन्त्रताको अवस्था’ विषयको अन्तरक्रियामा प्रेस स्वतन्त्रताको विषय अझै पनि कमजोर अवस्थामा रहेको गुनासो गरिएको छ ।
प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले समाचार लेखेकै आधारमा पत्रकारले वर्तमान अवस्थामा पनि यो वा त्यो रुपमा धम्की तथा दवावको सामना गर्ने गरेको बताउँदै निर्भीक रुपमा सत्यतथ्य समाचार लेख्न सक्ने वातावरण हुनुपर्छ ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले निष्पक्ष एवं निर्भीक पत्रकारिताको वातावरण अपरिहार्य भएकामा जोड दिनुभयो । पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले प्रेस स्वतन्त्रताविना सत्य तथ्य समाचार सम्प्रेषण हुन नसक्ने भएकाले उचित वातावरण तयार गरिनुपर्नेमा जोड दिनुभयो ।
पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पुण्य पौडेल, पत्रकार महासंघ कास्कीका सल्लाहकार रमेश पौडेल, सञ्चारिका समूह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य सरिता तिमल्सिना, खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, पत्रकार महासंघ कास्कीका सदस्य प्रकाश ढकाललगायतले समाजका सत्यतथ्य समाचार सम्प्रेषणका लागि प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति हुनुपर्ने धारणा राख्नुभयो । –रासस












प्रतिक्रिया