काठमाडौँ, १३ पुस । इन्डोनेसियाबाट सिंगापुर जाने क्रममा आज बिहानैदेखि बेपत्ता भएको एयर एसियाको जहाजमा नेपाली यात्रु नभएको बताइएको छ । एयर एसियाले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको पछिल्लो जानकारीले यसको पुष्टि गरेको हो ।
स्थानीय समय अनुसार, बिहान ७ः२४ बजेदेखि बेपत्ता भएको बिमानमा अधिकांश इन्डोनेशियाका यात्रु छन् । बिमानमा १६ जना बालबालिकासहित १५५ जना यात्रु र चालक दलका ७ जना सदस्य थिए । जसमध्ये १५६ इन्डोनिसयाली हुन् । यसैगरी, दक्षिण कोरियालाका तीन जना, फ्रान्स, मलेसिया र सिंगापुरका एक/एक नागरिक छन् ।

१६२ जना बोकेर इण्डोनेसियाबाट सिंगापुरका लागि उडेको क्यूजेड ८५०१ जहाज बिमान स्थानीय समय अनुसार बिहान ७ बजेर २४ मिनेटमा सम्पर्कविहीन भएको हो । स्थानीय समय अनुसार, बिमान ८ः३० बजे सिंगापुर अवतरण हुनुपर्ने थियो ।
एयर एसियाले विमानसँगको सम्पर्क टुटेको भन्दै खोजी कार्य सुरू गरेको जानकारी दिएको छ । घटनाबारे विस्तृत जानकारी आइसकेको छैन। विमान हराउनुभन्दा पहिला पाइलटले नयाँ रुटबारे सोधेका थिए । खराब मौसमका कारण बिमान हराएको हुन सक्ने आशंका गरिएको छ ।
मलेसियाका यातायात मन्त्री हादी मास्तोबाले कालीमान्टान र जाभा आइसल्याण्ड बीचमा पर्ने जाभा समुन्द्रमाथि पुगेपछि विमानको सम्पर्क टुटेको स्थानीय संचारमाध्यमलाई बताएका छन् ।
एसियामै सस्तो उडान भर्दै आएको एयर एसियाले नेपालमा समेत दैनिक एउटा उडान गर्दै आएको छ ।

















प्रतिक्रिया