१३ कार्तिक २०८३, शुक्रबार

‘भाउजु’लाई महामन्त्री बनाउन यी नेताले लिए जिम्मेवारी

8.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नी पत्नी डा.आरजु राणा देउवाको राजनीतिक भविष्यलाई लिएर चिन्ता जनाउन थालेका छन् ।

आफ्नी पत्नीको राजनीतिक सुरक्षालाई लिएर देउवा चिन्तामा डुब्नु सामान्य कुरा हो । आरजुलाई कैलालीबाट जिताउन नसकेपछि त्यस बेला देउवा इन्तु न चिन्तु बन्न पुगेका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

तर, रामचन्द्र पौडेल समूहले केन्द्रीय कार्यसमिति बैठकमा सातो लिने गरेर प्रस्तुति दिएपछि देउवा झनै डराएका छन् । देउवाले आफू निकटका नेताहरूसँग आरजुलाई ‘सेटल’ गर्न सकिन भनेर चिन्ता जनाउने गरेका छन् ।

देउवाले आरजुलाई जसले कांग्रेसको राजनीतिमा सहयोग गर्छ, उसैलाई आफूले साथ दिने भनेर भित्रभित्रै कांग्रेसका सम्भावना भएका नेताहरूसम्म कुरा पु-याएका छन् । आरजुको राजनीतिक यात्रा अगाडि बढाउने कुरा सूचना पु-याउने जिम्मा डा.प्रकाशशरण महतले पाएका छन् ।

हुन त आफ्नै गुटका विमलेन्द्र निधि र आरजुको कुरा नमिलेको देखेर देउवा सधै चिन्तामा डुब्ने गरेको एक नेताले बताए । तर, देउवाले निधि र आरजुलाई मिलाउन प्रयास गरिरहेका छन् । देउवाले वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई लात हानेर उपसभापतिमा विमलेन्द्र निधिलाई मनोनीत गर्ने तयारी थालेका छन् ।

निधिले १३औँ महाधिवेशनमा आरजु भाउजुको महामन्त्री बन्ने इच्छा पूरा गरिदिने कसम खाएपछि देउवाले उपसभापतिमा मनोनीत गर्ने तयारी गरेका हुन् । तर, आरजुलाई राजनीतिक रुपमा स्थापित गर्ने गरेर देउवाले अहिलेदेखि नै राजनीतिक चाल चल्न थालेको थाहा पाएपछि वरिष्ठ नेता पौडेलका साथै युवा नेताहरूले पदाधिकारी मनोनीतको कुरा विधान विपरित रहेको भनेर भाँडभैलो निकालेका हुन् ।

पार्टीभित्र भाँडभैलो भएपछि देउवा झन् समस्यामा परेका छन् । दुई वर्षभित्र मनोनीत गर्नुपर्ने पदाधिकारी अहिले आएर मनोनयन गर्न खोज्दा असन्तुष्ट समूहले विरोध गर्नु स्वभाविक नै हो । देउवाले विधान विपरितका काम गर्दा बाधा अड्काउ फुकाउनु पर्ने थियो ।

त्यो गर्न लागेनन् । देउवाले पहिलाकै जस्तो ठानेर उपसभापतिमा निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का, सहमहामन्त्रीमा डा.प्रकाश शरण महतलाई नियुक्त गर्न खोजेपछि बबण्डर भएको हो । यी तीनैजना नेताहरू निर्वाचनमा नराम्रोसँग पराजित भएका हुन् । यी तीनजना नेताहरूलाई आफ्नै गुटभित्रबाट समेत असहयोग छ ।

यद्यपि उनीहरूले देउवाको इच्छा बमोजिम आरजु भाउजुको राजनीतिक यात्रा अगाडि बढाउने प्रतिवद्धतासहित पद पाउन थालेका थिए । तत्कालका लागि उनीहरूको योजनामा तुषारापात भएको छ । उता, विजयकुमार गच्छदारको पार्टीलाई देउवाले अन्याय गरिरहेका छन् । गच्छदारको नेपाल फोरम लोकतान्त्रिक पार्टीलाई पूर्व सर्त अनुसार केन्द्रीय कार्यसमितिमा मनोनीत नगरेर ठूलो अपमान गरेको भन्दै आलोचना भएको छ ।