काठमाडौं, २० वैशाख । नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक र समाजवादी पार्टीको सभापति भएका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सामन्ती संस्कार, व्यवहार र कार्यशैलीलाई लोकतान्त्रिक पद्धतिको पालिस लगाएर देउवाका हरेक कार्यको गुणगान गाउँदै आएका कांग्रेसका केन्द्रीय सदस्यबीच पदाधिकारी पाउन तँछाड मछाड शुरु भएको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।
पद, पैशा र पावरका लागि मरिहत्ते गर्ने शेर गणका अुनयायी झैं देउवाको गुटमा लागेका केन्द्रीय सदस्यहरु एकले अर्कोको कमजोरी यतिवेला सामाजिक सञ्चालमार्फंंत सार्वजनिक गर्न थालेका छन् ।
देउवा गुटमा रहेका पूर्णबहादुर खड्का, प्रदीप गिरी, भिष्मराज आङ्दम्वे, विश्वप्रकाश शर्मा, मिन विश्वकर्मा जस्ता क्षमतावान र योग्य विवेकशील नेतालाई छोडेर बाँकी केन्द्रीय सदस्यहरु सबै कि त देउवाको या त विमलेन्द्र निधिको भक्तको रुपमा देखा परेका छन् ।
लोकतान्त्रिक फोरम कांग्रेसमा बिलय गरेका विजयकुमार गच्छदार र प्रजातान्त्रिक कांग्रेसको कार्यबाहक सभापति भएका गोपालमान श्रेष्ठहरु भने देउवाको गलगाँडको रुपमा देखा परेका छन् । देउवाको निवासमा बिहानदेखि साँझसम्म जीउ हजुरी नगर्ने खड्का, गिरी, शर्मा र विश्वकर्मा वाहेक अन्य सबै देउवा गुटका नेता भजनमण्डलीको रुपमा प्रस्तुत भएका छन् ।
देउवालाई ३२ नै लक्षणले युक्त भएका नेता भन्दै चाकडि गर्नेहरुमा गोपालमान श्रेष्ठ, एनपी साउद, बालकृष्ण खाँड देखिएका छन् । देउवाभन्दा डा. आरजु राणको चाकडी र चाप्लुसी गर्ने लाईनमा एक नम्वर डा. प्रकाशशरण महत देखिएका छन् भने दोश्रो, तेश्रो, चौथो र पाँचौंमा क्रमश ज्वाईंहरु ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, रमेश लेखक र किशोरसिंह राठौर छन् । आरजुको चाकडीमा लम्पसार पर्ने अन्य नेतामा पूर्वअर्थराज्यमन्त्री उदय राणा, महेन्द्र यादव र बीरबहादुर बलायर देखिएका छन् ।
देउवाको नजरमा राजनीतिक कार्यक्षेत्रमा काउछोको व्यवहार गरेका महेन्द्रनारायण निधिका छोरा बिमलेन्द्र निधिलाई उपसभापति बनाउन लागेका छन् । तर, काउछो भनेर टिप्पणी गर्ने देउवाले आफू प्रजातान्त्रिक कांग्रेसको सभापति हुँदा जेल परेपछि कार्यबाहक सभापति भएर सहयोग गरेका गोपालमान श्रेष्ठ र गच्छदारलाई भने उपसभापति नबनाउने भएका छन् । निधि जतिसुकै देउवाको आदेशपालकको रुपमा नभए पनि पार्टी संगठन बुझेको हुनाले श्रेष्ठ र गच्छदारलाई पन्छाउन बाध्य भएका छन् ।
गच्छदार र श्रेष्ठले पार्टीको केन्द्रीय कार्य समिति बैठकमा क्रमश चार घण्टा र तीन घण्टा बोलेपछि देउवाले पनि दर्जनौं पटक हाई काड्नु परेको थियो । आफ्नै गुणगान र योगदानको प्रशंसा गरेर नथाक्ने ७० बर्ष उमेर काटेका बृद्ध नेताको दृष्टिकोण र योजना केही सुन्न नपाएपछि देउवा दुवै नेतालाई व्यवस्थापन नगरे आफूलाई गलगाँड झैं भारी बोक्नु पर्ने गुनासो गरेका छन् ।
देउवाले निधिको व्यवस्थापन गर्न सजिलो भए पनि महामन्त्रीको व्यवस्थापन गर्न भने अझै सकेका छैनन् । स्वच्छ छबि बोकेका इमान्दार र स्वर्गीय खुमबहादुर खड्का गुटका केन्द्रीय सदस्यहरुले समेत पूर्णबहादुरलाई समर्थन गर्ने भएपछि देउवा उनैलाई नियुक्ती गर्न चाहन्छन् ।
तर, देउवालाई आरजुले पूर्णबहादुरलाई नियुक्त नगर्न दबाब दिएकी छन् । आरजुले भिनाजु ज्ञानेन्द्रबहादुर कार्कीलाई महामन्त्री नबनाए ठीक नहुने चेतावनी दिएकी छन् । आफूसँग सल्लाह नगरी यसअघि प्रवक्तामा विश्वप्रकाश शर्मालाई नियुक्त गरिएको भन्दै चिढिएकी आरजुले भिनाजु कार्कीलाई महामन्त्री नदिए डा. प्रकाशशरण महतलाई सहमहामन्त्री बनाउन दबाब दिएकी छन् । देउवा सहमहामन्त्रीमा मानबहादुर बिश्वकर्मालाई बनाउन चाहन्छन् ।
असन्तुष्ट नेता रामचन्द्र पौडेलले भने पूर्वअर्थमन्त्री महेश आचार्य र नविन्द्रराज जोशीमध्ये एकलाई सहमहामन्त्री बनाउन प्रस्ताव गरेका छन् । महामन्त्री डा. शशांक कोइरालाले भने आफ्नो सिफारिसमा एक जनालाई सहमहामन्त्री बनाउन सभपाति देउवालाई दबाब दिएका छन् ।
उनले डा. मिनेन्द्रप्रसाद रिजाललाई सहमहामन्त्री बनाउन प्रस्ताव गरेका छन् । रिजाललाई सहमहामन्त्री नदिए सुजातालाई उपसभापति दिन प्रस्ताव गरेका छन् । तर, देउवाले महासमिति बैठकमार्फत बिधान परिवर्तन भएपछि महिला कोटाबाट सुजातालाई उपसभापति बनाउने आश्वासन दिएका छन् । कोइरालाकै सिफारिसमा चार नम्वर प्रदेश संसदीय दलको नेतामा कृष्णचन्द्र नेपाली निर्वाचित भइसकेका छन् ।
कोइरालाले दिपक गिरीलाई संगठन विभागको जिम्मेवारी दिन माग गरेका छन् तर देउवाले संगठन प्रचार वाहेक गिरीलाई रोजेर अन्य विभागको जिम्मेवारी दिने वचन दिएका थिए ।
डा. आरजुको चाकडी नगरी देउवासँग सम्वन्ध गाँस्ने भनेर चिनिएका नेविसंघका पूर्वसभापति बालकृष्ण खाँड र एनपी साउद भने कुनै पनि पद नपाउनेमा परेका छन् । खाँडलाई संसदीय दलको नेतामा थन्काइएको छ भने साउदलाई आरजुले कुनैं पनि महत्वपूर्ण पद नदिने कसम खाएकी छन् । आरजुको चाकडी नगरे बापत भिष्मराज आङदम्वे र भरत साहले यसअघिको देउवा नेतृत्वको सरकारमा मन्त्री हुन नपाएका हुन् । देउवाको अन्धोभक्तको रुपमा यतिवेला सबैभन्दा अघि डा. प्रकाशशरण महत र किशोरसिंह राठौर देखा परेका छन् ।
उनीहरु देउवा वा देउवापत्नीको बिषयमा कसैले टिप्पणी वा असहमति व्यक्त गरेमा कुट्न जान समेत पछि पर्दैनन् । केन्द्रीय कार्य समिति बैठकमा महत, राठौर र शंकर भण्डारीले आफ्नो वा देउवाको धेरै बिरोध गर्ने केन्द्रीय सदस्यबिरुद्ध पाखुरा सुर्कने गरेका छन् । महतले नारायण खड्कासँग र राठौरले शर्माबिरिुद्ध पाखुरा सुर्केका थिए ।












प्रतिक्रिया