काठमाडौं । राप्रपा (प्रजातान्त्रिक)को केन्द्रीय सदस्य समेत रहेकी अभिनेत्री रेखा थापाले आफू राजनीतिमा असफल नभएको दाबी गरेकी छिन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले आफू सफल भएरै छाड्ने बताएकी हुन् । ‘लेखेर राख्नुस्, म बहुत सफल हुन्छु । म हन्ड्रेड प्रर्सेन्ट कुनै बेला यो देशको नेतृत्व गर्ने ठाउँमा पुग्छु’, उनले भनिन् ।
कोटा वा किस्तीमा दिइएको पदले नभै आफ्नै क्षमताका आधारमा प्रतिस्पर्धामार्फत आफू देशको नेतृत्व तहमा पुग्ने दाबी थापाको छ । चुनावमा महिलालाई प्रत्यक्षतर्फ नलडाएर समानुपातिकमा मात्रै राखिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरेकी छिन् ।
‘म जस्ता धेरै नारीहरू छन्, जो देशको नेतृत्व गर्ने क्षमता राख्दछन् । म प्रधानमन्त्रीको लायक छु । बनेरै छाड्छु’, उनले भनिन् ।
पहिला प्रचण्ड निकट, अहिले पशुपतिशमशेर राणा निकट, यसरी पार्टी फेर्दै हिँड्ने मान्छे कसरी क्षमतावान हुन्छ भन्ने प्रश्नमा थापाले कुटनीतिक जवाफ दिदै भनिन्, ‘प्रचण्ड पनि यही देशका नागरिक हुन्, पशुपतिशमशेर पनि यही देशका नागरिक हुन् । म विदेशी मान्छेसँग त छैन नि ।’
जोसँग नजिक भए पनि देशकै लागि केही गर्ने चाहना भएको उनको दाबी छ । दलहरूको सिद्धान्त हेरेर नजिक भएपनि ति सिद्धान्त कागजी रुपमा मात्रै भएको व्यवहारिक रुपमा नभएको उनको आरोप छ ।















प्रतिक्रिया