३१ आश्विन २०८३, शनिबार

पोर्चुगलको सडकमा घन्किए बुद्धका शान्ति सन्देश

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः रासस

–भरत प्रधान 
लिस्बन, १८ वैशाख । युरोपेली मुलुक पोर्चुगलमा गौतम बुद्धको शान्ति सन्देश प्रतिध्वनित गरिएको छ । २५६२ औं बुद्ध जयन्तीको अवसर पारेर राजधानी लिस्वनमा शान्ति शोभायात्रा निकाली नेपाली समुदायले गौतम बुद्धको शान्ति सन्देश प्रवाह गरेका हुन् ।

सोमबार यहाँ आयोजना गरिएको बृहत् शोभायात्राले राजधानी लिस्बनका मुख्य सडक नेपालमय नै बनेको थियो । बुद्धका तस्वीर, प्लेकार्ड, बुद्ध वाणी र नेपालको राष्ट्रिय झण्डा सहित नेपाली वेशाभूषामा सजिएका नेपालीहरुले यहाँको मुख्य पर्यटकीय सडकलाई नेपालमय बनाएका हुन् । र्‍यालीमार्फत बुद्ध नेपालमा जन्मेका हुन्, बुद्ध शान्तिका प्रतीक हुन्, बुद्ध एशियाका ज्योति हुन्, नेपाल भ्रमण गरौं जस्ता बुद्धभूमि नेपालको प्रचारमूलक सन्देश प्रवाह गरिएको थियो ।

पोर्चुगिज बौद्ध धर्म गुरु, लामा, बौद्ध अनुयायीलगायतका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको उक्त र्‍यालीले यहाँको मुख्य पर्यटकीय सडकहरुको परिक्रमा गरेको थियो । र्‍यालीमा बुद्ध वचनका साथै बुद्धं शरणम् गच्छामि, धम्मं शरणम् गच्छामि, संघं शरणम् गच्छामिलगायत सन्देशहरु वाचनसमेत गरिएको थियो । रोसियोस्थित समुन्द्र किनारबाट शुरु भएको र्‍याली मार्तिम मोनिज पार्कमा आएर समापन भएको थियो ।

र्‍याली पछि मार्तिम मुनिज पार्कमा पोर्चुगिज बौद्ध धर्मगुरु लामा गिर्मेद्वारा भगवान् गौतम बुद्धका ज्ञान, दर्शन र उपदेशका विषयमा प्रवचन समेत दिइएको थियो । कार्यक्रममा यहाँका केही नेपाली संघसंस्थाले पानी, फलफूल तथा जुस वितरण गरेका थिए । यसअघि रोसियोस्थित सिन्डिकेट हलमा धर्मगुरुद्वारा बुद्ध पूजा गरिएको थियो । र्‍यालीमार्फत विदेशीहरुलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिइएको र बुद्धभूमि नेपालको भ्रमण गर्न आह्वान गरिएको बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं पर्यटन दूत रमेशकुमार गुरुङले बताउनुभयो । –रासस