१३ कार्तिक २०८३, शुक्रबार

‘बुवाले पठाएको चिठी ‘ब्वायफ्रेन्ड’ को भनेर दिएनन्’

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख ।

छोरी सुजाताको नजरमा पिता गिरिजाप्रसाद-

पिता गिरिजाप्रसाद कोइरालाबारे मेरो बाल्यकालको सन्दर्भमा कमै याद छ । किनकि मैले अलिअलि थाहा पाउने हुँदा (५ वर्षको हुँदा) नै उहाँ जेल पर्नुभएको थियो । उहाँ जेलबाट निस्कँदा म ठूली भइसकेकी थिएँ । त्यसपछि मात्र मैले उहाँलाई बुझ्ने मौका पाएँ । त्यसवेला गम्भीर, चञ्चले स्वभावको हुनुहुन्थ्यो । कान्छो भएकाले हजुरआमाले ज्यादै माया गर्नुहुन्थ्यो उहाँलाई । प्रायः समय हजुरआमासँगै खेल्नमै बिताउनुहुन्थ्यो । हजुरआमाले यस (गिरिजाप्रसाद)ले मुलुकका लागि केही गर्छ ? यसको स्वभावबाट म त्यही बुझ्छु भन्नुहुन्थ्यो ।

बनारसमा मेरो ठूलोबुवा विश्वेश्वरप्रसाद कोइरालाले हजुरआमासँग भनेको मलाई अहिले पनि याद छ, ‘आमा तपाईं त खालि गिरिजालाई मात्रै माया गर्नुहुन्छ, म जेठो छोरा भनेर हो कि त्यति माया गर्नुहुन्न, खालि गिरिजा, गिरिजा, गिरिजा गरिराख्नुहुन्छ ।’ उहाँ घरबाट बाहिर निस्कँदा धेरै मान्छेको हुल लिएर निस्कनुहुन्थ्यो । संघसंगठन निर्माण गर्ने काममा सदैव अग्रसर भएको मैले पाउँथेँ । त्यो खुवी उहाँको सानैदेखि रहेको मलाई हजुरआमाले सुनाउनुहुन्थ्यो । मैले त देख्ने कुरा भएन ।

बुवाले ल्याइदिएको त्यो खेलौना

उहाँ एकपटक इंग्ल्यान्डमा ट्रेड युनियनको कार्यक्रममा गएर फर्कँदा मेरा लागि केही ‘टोय’ (खेलौना) ल्याइदिनुभएको थियो । त्यो खेलौना पाएपछि म ज्यादै खुसी भएकी थिएँ । खेलौनासँगै आमा र बुवा पनि खेलेको म अहिलेसम्म झलझली सम्झन्छु । त्यो नै मेरो मेमोरीमा भएको बुवा र आमासँगको रमाइलो पल हो । त्यसपछि बुवा जेलमा पर्नुभयो ।

बुवा जेलमै रहेका वेला म पढ्नका लागि भारतको कलकत्तामा रहेको शान्ति निकेतन बोर्डिङ स्कुलमा गए । त्यहाँ भएको वेलामा बाबुछोरीको सम्पर्क गर्ने कुनै माध्यम थिएन । अहिलेजस्तो फेसबुक र इन्टरनेट थिएन । जेलबाट उहाँले मलाई चिठी लेख्नुहुन्थ्यो । प्रायः महिनामा एउटा चिठी आउँथ्यो । मैले पनि उहाँलाई ति चिठीको जवाफ फर्काइरहन्थेँ ।

एकपटकको जेलको चिठी अझैसम्म पनि ताजै छ । राजाले जेलमा रहेका सबैलाई ‘राजनीति गर्दिनँ’ भन्ने सर्तमा सहमति जनाउने हो भने छोडिदिन्छु भनेका थिए । जेल बसेको ६ वर्षभन्दा बढी भइसकेको थियो । जेलमा रहेका केही नेता बिरामी पर्नुभएको थियो । तारिणी बुवा (तारिणीप्रसाद कोइराला) पनि ज्यादै नै बिरामी हुनुभएको थियो । बिरामी अवस्थामा रहेका तारिणी बुवाले के गर्ने गिरिजा तँलाई एक्लै छाडेर जाने मन छैन भन्नुभयो । त्यसको जवाफमा बुवाले भन्नुभयो, ‘तपाईं जानुपर्छ दाजु, तपार्इं बिरामी हुनुहुन्छ । यहाँ बसेर हुँदैन, स्वास्थ्यका कारणले तपाईंलाई समस्या पर्न सक्छ । तपाईंले उठाएका मुद्दामा मैले जे गर्नुुपर्छ, गरिहाल्छु नि ।’ त्यही स्वास्थ्यका कारण पछि तारिणी बुवाको निधन भयो । त्यस वेलामा बुवा एक्लै जेलमा अनशन बस्नुभएको थियो । अनशन बसेको वेलामा उहाँले मलाई चिठी लेख्नुभएको थियो । चिठीमा ‘म अनशन गर्दै छु, सुष्मा (मेरो आमा)ले हुँदैन, यस्तो नेतागिरी गरेर कहाँ हुन्छ भन्छे, म के गरौँ छोरी’ भनेर सोध्नुभएको थियो । मैले त्यसको जवाफमा लेखेकी थिएँ,

‘तपाईं जे एजेन्डा उठाएर लडिरहनुभएको छ, लड्नुस् । मम्मीले भनेर छाड्ने होइन, अनशन नै गरेर आफ्नो एजेन्डा पूरा गरेर मात्रै छुट्नुपर्छ । राजनीति छाड्ने भनेर छुट्ने होइन, तपाईंलाई साथ म दिन्छु ।’ पछि बुवाले आफ्ना सहकर्मीसँग पनि मलाई राजनीतिमा इन्करेज गर्ने छोरीले हो भनेर मेरो प्रशंसा गरिरहनुहुन्थ्यो । त्यसले मेरो मनोबल बढ्यो भन्नुहुन्थ्यो । सानैदेखि म अडिग स्वभावकी थिएँ, आफूले बोलेको कुरा पूरा गर्नुपर्छ भन्ने मान्यता राख्थेँ । उहाँहरूले प्रजातन्त्र ल्याउन गरिरहेको संघर्षमा मेरो पूरा समर्थन थियो । राम्रो काम गरिरहनुभएको छ, त्यसमा हामीले बल दिनुपर्छ भन्थेँ ।

राजालाई गलाउने अनशन

मेरो सुझाबलाई मनन गरेकाले आफ्नो मनोबल बढेको भन्ने विषय पिताले प्रायः अन्तर्वार्तामा भन्ने गर्नुहुन्थ्यो । उहाँ मैले पठाएको पत्र पाएपछि झन् उत्साहित भएर १९ दिन अनशन बसेपछि राजाले अनशन तोडेमा माग पूरा गर्ने खबर पठाएको भनिरहनुहुन्थ्यो । मेरो पत्रका कारण मनोबल बढेर आफूले पहिला माग पूरा गरेपछि मात्रै अनशन तोड्ने बताएको पछि मलाई सुनाउनुभएको थियो । राजाले माग पूरा गरेर उहाँको अनशन तोडाए । उहाँ जेलबाट छुटे पनि बिपी, गणेशमानलगायत नेताहरू जेलमा नै हुनुहुन्थ्यो । जेलबाट छुटेपछि उहाँ नेताहरूलाई छुटाउन भारतमा रहेका नेता सुवर्णशमशेरलाई भेट्न जानुभयो । त्यहीँ मसँग पनि भेट भयो । त्यसवेला म धेरै खुसी भएकी थिएँ । सबै साथीहरूका आमाबुवा स्कुलमा भेट्न र छोड्न आउने मेरा भने कहिल्यै नआउने । बुवा जेलमा हुनुहुन्थ्यो ।

त्यसवेला विराटनगरमा बंगाली नागरिक शान्ता बेनर्जी र उहाँका श्रीमान् डाक्टर हुनुहुन्थ्यो । हजुरबुवाले विराटनगरलाई विकसित बनाउनुपर्‍यो भनेर उहाँहरूलाई कोलकत्ताबाट ल्याउनुभएको थियो । जमिन आफैँले दिएर त्यसमा अस्पतालका लागि घर बनाइदिएर राख्नुभयो । त्यही घरमा अहिले कोसी अञ्चल अस्पताल छ । ती डाक्टरदम्पतीका छोरीहरू पनि मै पढेको स्कुलमा पढ्ने भएकाले आफ्ना छोरी ल्याउन जाँदा मलाई पनि ल्याइदिनुहुन्थ्यो । मलाई एकदमै रहर थियो, पिता जेलबाट छुटेपछि पिता र मम्मी लिन आएर सँगै घर जाने । मैले पिता र मम्मी स्कुल नआएसम्म स्कुलबाटै ननिस्कने खबर पनि पठाएकी थिएँ ।

मेरो अड्डीपछि उहाँहरू मलाई लिन आउनुभयो र लिएर कलकत्ता जानुभयो । कलकत्तामा गएर हामी योगप्रसाद उपाध्यायको घरमा बस्यौँ । त्यो नै मेरो जीवनको अविष्मरणीय क्षणमध्ये एउटा हो ।

हामी साथी–साथी थियौँ

बुवा जेलबाट छुटेको दुई महिनामा आमाको मृत्यु भयो । त्यसपछि एकैपटक आमा र बुवाको न्यानो माया कस्तो हुन्छ भन्ने मैले अनुभव गर्न पाइनँ । आमाको मृत्यु भएपछि मलाई पढ्न पनि मन लाग्दैनथ्यो । धेरै डिफिकल्ट टाइमबाट गुज्रिएँ ।

मेरो आमा भारतमा पढेर शिक्षा हासिल गरेपछि मेरो हजुरबुवा (कृष्णप्रसाद कोइराला)ले खोल्नुभएको आदर्श बालिका माध्यमिक विद्यालयमा पढाउनुहुन्थ्यो । त्यसवेला छोरीलाई पढाउन हुँदैन भन्ने मान्यता थियो । तर, मेरो हजुरबुवाको विद्रोही स्वभाव भएकाले छोरी मान्छेलाई पढाउनुपर्छ, सिकाउनुपर्छ, आफ्नो खुट्टामा उभ्याउनुपर्छ भन्ने धारणा राख्नुहुन्थ्यो । त्यही कारणले त्यो विद्यालय खोल्नुभएको थियो । पढाएबापत आएको पैसाले हामीलाई पढाउने र घर धान्नका लागि आवश्यक पर्ने सामान किन्ने गर्नुहुन्थ्यो ।

पितासँग मेरो सम्बन्धमा कहिल्यै उतारचढाव आएन । हामी साथी–साथीजस्ता थियौँ । हरेक विषयमा म पितासँग बहस गर्दथेँ । यतिसम्म कि आफ्ना व्यक्तिगत कुरासम्म पितासँग सेयर गर्दथेँ । उहाँको कम बोल्ने स्वभाव थियो । उहाँ कोमल हृदय भएको व्यक्ति हुनुहुन्थ्यो । बच्चालाई असाध्यै मन पराउनुहुन्थ्यो । आर्थिक अवस्था कमजोर भएका थुप्रै बच्चालाई पढाउनुभएको छ । कतिपय परिवारलाई आर्थिक सहयोग गरेका समाचार त बाहिर प्रशस्तै आएका छन् ।

बुवाले पठाएको चिठी ब्वायफ्रेन्डले पठाएको भनेर दिएनन्

जीवनभर उहाँले मलाई गाली गरेको अनुभव गर्न नै पाइनँ । सधैँ माया मात्रै गरिरहनुभयो । छोरी तिमीले धेरै पढ्नुपर्छ, सिक्नुपर्छ, आफ्नो खुट्टामा उभिन सक्ने हुनुपर्छ भन्नुहुन्थ्यो । म बनारसमा पढ्दा पनि त्यस्तै आसयको चिठी लेख्नुभएको थियो । त्यो धेरै मोटो थियो । यतिसम्म कि भएकाले मेरो वार्डेनले तँलाई यति मोटो चिठी कसले पठाउँछ, कतै ब्वायफ्रेन्डले त होइन भनेर दिएन । त्यसपछि मैले मेरो पिताले पठाएको हो, नपत्याए खोलेर हेर्नु भनेपछि बल्ल दिए ।

पिताले राम्रो काम गर्नुपर्छ, सबैका आँखामा नबिझाउने बन्नुपर्छ भन्नुहुन्थ्यो । सबैलाई माया, आदर–सत्कार गर्न सिक्नुपर्छ भन्नुहुन्थ्यो । जहिले पनि अरूलाई दिन सिक्नुपर्छ भन्नुहुन्थ्यो । अहिले आएर अनुभव गर्दा पहिला आफ्नोबारेमा सोचेपछि मात्रै अरूकोबारेमा सोच्नुपर्ने रहेछ भन्ने अनुभव गर्दै जाँदा बुझेकी छु । अबको जमानामा त दिने होइन लिने मात्रै देखिन्छन् । उहाँहरूको वेलामा त्यस्तो थिएन ।

कुरा अरूको सुन्ने निर्णय आफ्नो

उहाँ आफू धेरै बोल्नु हुन्नथ्यो । कुरा सबैको सुन्नुहुन्थ्यो । तर, निर्णय लिने वेलामा आफैँले सोचेर लिनुहुन्थ्यो । कहिलेकाहीँ मैले दिएको सुझाब पनि केही मात्रामा मान्नुहुन्थ्यो । धेरै सुझाब सुझाबमा मात्रै सीमित हुन्थे । राजनीतिक रूपमा पनि के गर्ने, के नगर्ने भन्ने विषयमा सहकर्मीका धारणा सुन्नुहुन्थ्यो । तर, निर्णय आफ्नै मनमा लागेको गर्नुहुन्थ्यो । उहाँको राम्रो बानी सबैको सुझाब सुन्ने थियो । क्राइसिसको वेलामा अधिकांश समय साथीभाइसँग हिँडेकाले साथीभाइप्रति उहाँको अद्भूत माया थियो । जुन मैले शब्दमा बयान गर्नै सक्दिनँ । पछिल्ला दिनमा सत्ता र शक्तिमा आएपछि सबै नेपाली जनताप्रति नै माया र ममता दर्शाउन थाल्नुभयो । नेपाली जनताका हरेक छोराछोरीलाई माया गर्नुहुन्थ्यो । यो कुन पार्टीको हो ? भनेर सोधेको मैले कहिल्यै थाहा पाइनँ । मुलुकको विकास कसरी गर्ने ? दुःख पाइरहेका जनताको जीवनस्तर कसरी सुधार गर्ने भन्नेमा सदैव चिन्ता लिइरहनुहुन्थ्यो । पटक–पटक मुलुकको प्रधानमन्त्री भएर पनि उहाँ साधारण जीवनशैलीमा बस्नुहुन्थ्यो । कहिल्यै पनि तडकभडक भएको मैले पत्तो पाइनँ । मलाई लाग्छ, अहिलेसम्मको राष्ट्रवादी नेता गिरिजाबाबु नै हुनुहुन्थ्यो । उहाँले राष्ट्रको समृद्धिका लागि हरेक विषयमा पहलकदमी लिनुभयो । आफूले पाएका अवसर पनि जनताका लागि त्याग्नुभयो । वास्तवमा भन्ने हो भने उहाँले राष्ट्रका लागि नै जीवन समर्पण गर्नुभयो । कहिलेकाहीँ खालि जनता–जनता भन्नुहुन्छ । पार्टी–पार्टी भन्नुहुन्छ ।

अहिलेका नेता गिरिजाबाबुजस्ता छैनन्

मेरा पिता भएर होइन, उहाँमा जस्तो राजनेतामा हुनुपर्ने गुण अहिलेका शीर्ष तहका नेताहरूमा छैन । अहिलेका नेताहरूले पनि त्याग, समर्पण गरेका छन् । मुलुकलाई यहाँसम्म ल्याउन उनीहरूको पनि योगदान छ, सबै नराम्रा छन् भन्न मिल्दैन । तर, गिरिजाबाबु, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीहरूसँग अहिलेका नेताको तुलना गर्न मिल्दैन । साँच्चै भन्दा गिरिजाबाबु लक्की पनि हो । उहाँले २००३, २००७, २०१७ र ग्लोबलाइजेसन पनि देख्नुभयो । यस्तो लेभलका नेता अहिले को छ ? उहाँका समकालीनमध्ये पनि कृष्णप्रसाद भट्टराईले बाहेक कसैले पनि ग्लोबलाइजेसन देखेनन् ।

क्रान्तिकारी हुनुहुन्थ्यो

हामी साना हुँदा सुनसरीमा मुसलमान र दलित बस्ती ठूलो थियो । मुसलमान र दलितको घरमा गएर कोही पनि खाना खाँदैनथे । उहाँले मुसलमान र दलितको घरमा गएर खाना खाने, सुत्ने गरेर विद्रोह गर्नुभयो । बाहुनको छोरो दलित र मुसलमानको घरमा गएर बस्ने र खाना खाने विषय हुनै नसक्ने कुरा थियो । तर, उहाँले समाजमा परिवर्तन ल्याउनुपर्छ भन्दै सुरुवात गरिदिनुभयो । खाना खाने मात्र होइन, उनीहरूमा सचेतता ल्याउन आफू संरक्षक भएर मुसलमान र दलितको संगठन पनि खोलिदिनुभयो । त्यति गरेपछि बाहुनको छोराले पनि दलित र मुसलमानकहाँ गएर खाँदा केही हुने रहेनछ भन्ने हल्ला गाउँभर चल्न थाल्यो । जानै नहुने, छुनै नहुने भन्ने कुरा गलत रहेको चेतनाको सञ्चार हुन थाल्यो । सबै जातजाति समान हुन् भन्ने सोचको विकास नेपाली कांग्रेसका नेताहरूमा उहाँले नै सुरु गर्नुभएको हो ।

म गिरिजाबाबुका कारण राजनीतिमा आएकी होइन

धेरैले मलाई गिरिजाबाबुले राजनीतिमा ल्याएको भन्छन् । त्यसमा कत्ति पनि सत्यता छैन । राजनीतिमा आउने मेरो स्वभाव पनि थिएन । मेरो बिहे जर्मनीमा भएको थियो । बच्चाबच्ची पनि भइसकेका थिए । बिदा भएको वेलामा जर्मनीबाट बच्चाबच्ची लिएर नेपाल आउँथेँ । सामाजिक कार्य गर्ने मेरो शोख थियो । पञ्चायतकाल भएका वेलामा मैले सामाजिक काम गर्छु भन्दा मेरा साथीभाइ हाँसेका थिए । उनीहरू मलाई भन्थे, ‘हामी मान्छे रगत नपाएर अस्पतालको शय्यामा छटपटाइरहेको वेला रगत दिन्छाैँ भन्दा त यो नेपाली कांग्रेसको रगत हो, दिनुहुँदैन भन्छन् मन्डलेहरू, अनि तिमीलाई कहाँबाट सामाजिक कार्य गर्न दिन्छन् र गछ्र्याै ।’ त्यसपछि म भन्थेँ, ‘हामीले रगत पनि दिन नपाउने, माई गड ।’

सायद, मेरो पिताजी पहिला राजनीतिक काम गरेर राजनीतिमा आएकाले होला, मलाई पनि त्यो इच्छा आएको । उहाँहरू सानो–सानो भएको वेलामा मोरङमा लेपरहरूको पनि बसोवास थियो । मान्छे बिरामी भयो भने, हामीलाई पनि सर्छ भनेर नालामा फाल्ने प्रचलन त्यो जातिमा थियो । तर, पिताले उनीहरूलाई ल्याएर औषधोपचार गर्ने, ब्यान्डेज बाँधिदिने गर्नुहुन्थ्यो रे । मलाई हजुरआमाले सुनाउनुहुन्थ्यो । गिरिजाले सानामा के–के गर्‍यो–गर्‍यो, मलाई त साह्रै डर लाग्थ्यो भन्नुहुन्थ्यो ।

यति हुँदाहुँदै ०४६ सालको जनआन्दोलन सुरु भयो । जनआन्दोलन सफल भएर प्रजातन्त्र आयो । प्रजातन्त्र आएपछि त्यसको फाइदा लिनैपर्‍यो । समाजसेवाको काम गर्ने सोच आमालाई मिस गरेर आएको हो । मेरो आमा जलेर मर्नुभयो । आमाको मृत्यु भएपछि मेरो जीवनमा धेरै ठूलो परिवर्तन आयो । आमाको नाममा केही खोलेर समाजसेवामा आफ्ना पाइला अघि बढाउँछु भन्ने थियो । त्यसको सुरुवात आमाको जलेर मृत्यु भएकाले जलेको निको बनाउने अस्पताल खोल्ने मेरो चाहना थियो । आमा कसरी जल्नुभयो भन्ने मैले आफैँ देखेकी थिएँ । म स्कुलमा थिएँ । आमा जलेपछि मलाई घरमा ल्याइएको थियो । अरूलाई जलेर मर्न नपरोस् भन्ने मेरो चाहना थियो । त्यो चाहना पूरा गर्दै मैले जलेको घाउ निको बनाउने मुख्य कार्य राखेर सुष्मा ट्रस्ट मेमोरियल अस्पताल खोलेँ । अस्पताल खोलेको २० वर्ष भयो, धेरै राम्रा काम गरिरहेको छ । अस्पताल खोल्ने काम सफल भएपछि अरू काम पनि गर्नुपर्‍यो भन्ने लाग्यो । त्यसपछि आमाका नाममा स–साना काम गरँे । गाउँगाउँमा को–अपरेटिभ खोलेँ ।

मैले सामाजिक काम गर्न थालेपछि नेपालमा महिलाको अवस्था दयनीय भएको धेरै साथीहरूले बताए । तर, मैले त्यस्तो छ भन्ने पत्याउँदै पत्याइनँ । गाउँगाउँमा पुगेर महिलाको अवस्था अध्ययन गरेँ । त्यसपछि मेरो आँखा खुल्यो । म गाउँगाउँमा जाँदा पार्टीका साथीहरू पछिपछि लाग्थे । गाडीमा चढ्दा म एकजना मात्र महिला, अरू सबै पुरुष हुन्थे । महिलाको अवस्था बुझ्न जाँदा उनीहरूले राजनीतिक कुरा गर्न थाले । त्यसपछि बिस्तारैबिस्तारै सामाजिक कार्यले मलाई राजनीतिमा चासो जगायो । गाउँमा पुग्दा आफ्नो भाग खोस्न आई भनेर लखेट्ने धेरै भए । त्यसपछि आफूलाई सुरक्षित बनाउन राजनीतिमा होमिएँ । राजनीति सुरु गरेपछि गिरिजाकी छोरी भनेर लखेट्ने पनि, माया गर्ने पनि पाए । भर्खरै जस्तो लाग्छ राजनीति सुरु गरेको, तर सक्रिय राजनीतिमा लागेको २५ वर्ष लागिसक्यो ।

प्रस्तुती: मधुसुधन भट्टरार्इ, नयाँ पत्रिका दैनिक