
काठमाडौँ, ११ पुस । नेकपा एमाले पार्टी मुख्यालयमा शुक्रबार बसेको स्थायी कमिटीको दोस्रो बैठकले शङ्कर पोखरेल, सुरेन्द्र पाण्डे, किरण गुरूङ, छविलाल विश्वकर्मा र सत्यनारायण मण्डललाई स्थायी कमिटीमा थप गर्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय कमिटीले दिएको जिम्मेवारी अनुरूप उहाँहरुलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको महासचिव इश्वर पोख्रेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘बाँकी एकजनाको नाम पार्टीका वरिष्ठ नेताहरूसँग परामर्श गरी अध्यक्षले प्रस्तावित गर्नुहुनेछ,’ विज्ञप्तिमा भनिएको छ ।
गत मंसिर २७ मा पार्टी कार्यालय बल्खुमा बसेको केन्द्रीय समिति बैठकले १४ पदाधिकारी, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल र मुकुन्द न्यौपाने रहेको स्थायी कमिटी गठन गरेको थियो। अनुशासन आयोग प्रमुख अतृमकुमार बोहोरा स्थायी कमिटीको पदेन सदस्य रहने व्यवस्था समेत गरेको थियो ।
शुक्रबारको बैठकले २६ डिसेम्वर माओत्सेतुङ जन्मजयन्ती परेको भन्दै चिनियाँ क्रान्तिका महान नेताप्रति उच्च सम्मान प्रकट गरेको छ । बैठकले चिनियाँ क्रान्ति, विश्वका उत्पीडित राष्ट्रको हित र नेपाल–चीन सम्बन्धलाई प्रगाढ बनाउन उहाँले खेलेको भूमिकाको स्मरण पनि गरेको छ ।















प्रतिक्रिया