४ कार्तिक २०८३, बुधबार

कलाकारहरूको छेपारे प्रवृत्ति: अवार्डका लागि यतिसम्म नौटंकी गर्छन्

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘एक लज्जाम् परित्यज्य सर्वत्र विजयी भवेत्’ संस्कृतको यो भनाईको अर्थ हुन्छ– एकचोटि लाज पचिसकेपछि अर्कोपटक लाज पचाउन के को गाह्रो ? नेपालका हरेक क्षेत्रमा यसका उदाहरणका पात्र भनेजति भेटिन्छन् । तर आज नेपाली फिल्मका यस्ता पात्रहरूबारे समिक्षा गरिएको छ ।

अभिनेत्री रेखा थापाले एक पटक फिल्म अवार्ड नलिने घोषणा गरिन् । मिडियामा आफुलाई कायम राख्नका लागि रेखाको यो घोषणा पानी….सावित भयो जब अघिल्लो पटक प्रधानमन्त्री हुँदा केपी ओलीबाट उनले ‘फान अवार्ड’ लिन हतारिएर पुगिन् ।

थापाको चरित्रका लागि नेपालीमा एउटा उखान बंग्याउँदा ठिक होला । पाए डुमै राजा, नपाए भूतको खाजा !

थापाले राजनीतिमा पनि खुट्टा हालिन् । त्यसमा पनि उनको चरित्र त्यति बलियो देखिएन । टिकटका लोभमा माओवादीका सभा र सम्मेलनमा पुग्ने गरेकी उनी अवसरका लागि कमल थापाको राप्रपा हुँदै अहिले विभाजित राप्रपा प्रजातान्त्रिकको सदस्य हुन् । थापाको चरित्रका लागि नेपालीमा एउटा उखान बंग्याउँदा ठिक होला । पाए डुमै राजा, नपाए भूतको खाजा !

५ वर्ष अघि चलचित्र विकास बोर्डले वितरण गर्ने राष्ट्रिय अवार्ड थापाले नपाउँदा अवार्डमा नजाने घोषणा गरेकी थिइन् । फेसबुकमा निकै लामोे स्ट्याटस लेख्दै उनले अवार्डमा धाँधली हुने गरेको र अवार्डबाट विश्वास उठेको उल्लेख गरेकी थिइन् । सँगसँगै उनले जुरी सदस्यको हैसियतमाथि पनि प्रश्न उठाएकी थिइन् ।

त्यसको तीन बर्ष नवित्दै फान अवार्ड मनोनयन सार्वजनिक भयो । आयोजकले मनपरी मनोनयन गरेको भन्दै फिल्मकर्मीले व्यापक विरोध जनाए । अभिनेता दीपकराज गिरी र अवार्ड सह–संयोजक प्रकाश सुवेदीको दन्त बझान फेसबुकमा छताछुल्ल भयो । तर, यो विवाद मनोनयनमा मात्र टुंगिएन । अवार्डको दिन जुरी र आयोजक बीच नै खटपट सतहमा आयो ।

आयोजकले जुरी चिनाउने मर्यादा पनि निभाउन सकेनन् । कारण आयोजक र जुरी संयोजक हरिहर शर्माबीच अवार्ड वितरणलाई लिएर मतभेद सिर्जना भएको थियो । त्यसो त आयोजकले अवार्ड जित्नेलाई मात्र बोलाएर पहिले नै अवार्डको गरिमा घटाइसकेको थियो । त्यसमाथि बाँडेको अवार्डमा पनि उत्कृष्ट भन्दा औसतलाई अवार्ड दिएपछि कलाकार संघले पहिलो पल्ट थालेको अवार्डले फिल्मकर्मीमा उत्साह कम निराशा ज्यादा सञ्चार गर्‍यो ।

नयाँ वर्ष वितेपछि अवार्डको मौसम सुरू हुन्छन् । यसरी वर्षभरमा कम्तीमा पनि ७–८ वटा अवार्ड आयोजना हुने गरेका छन् । तर नयाँ हुन् वा पुराना कुनै पनि अवार्डले आफ्नो गरिमा राख्न सकेका छैनन् । आखिर किन नेपालमा अवार्डले निरन्तर आफ्नो मर्यादा कायम राख्न सकिरहेका छैनन् ?

वर्षभरमा कम्तीमा पनि ७–८ वटा अवार्ड आयोजना हुने गरेका छन् । तर नयाँ हुन् वा पुराना कुनै पनि अवार्डले आफ्नो गरिमा राख्न सकेका छैनन् । आखिर किन नेपालमा अवार्डले निरन्तर आफ्नो मर्यादा कायम राख्न सकिरहेका छैनन् ?

थुप्रै अवार्डलाई नजिकबाट नियालेका फिल्म समिक्षक दीपेन्द्र लामा भन्छन्, ‘आयोजकले केका लागि अवार्ड आयोजना गरेका हुन् । परिणाम पनि त्यही कुराले निर्देशन गरिरहेको हुन्छ । तर नेपालमा चैं अवार्ड आयोजनाका नाममा योग्यहरूको मान मर्दन र अयोग्यहरूको हर्क बढाईं हुने गरेको छ ।’

लामा नेपाली समाजको संस्कृति नै चाकडी चाप्लुसीमा निहित रहेकाले अवार्ड पनि यस्तै प्रवृत्तिबाट निसृत रहेको बताउँछन् । उनले राणा कालमा चाकडी गरेवापत विर्ता पाउने संस्कृति आधुनिक समाजमा हट्न नसक्दा अवार्डमा पनि यही प्रवृत्तिले काम गरेको देख्छन् । लामा थप्छन्, ‘मनोनयन हेर्ने वित्तिकै ९९ प्रतिशत अवार्डको परिणाम अनुमान गर्न सकिन्छ । बार्गेनिङ हुँदा एक दुई परिणाममा फरक पर्ने बेग्लै कुरा हो ।’

समस्या त्यहाँबाट फैलन्छ जहाँ यसको जरा हुन्छ । अर्थात् अवार्डको महत्व धुलिसात गर्न फिल्मकर्मीकै ज्यादा ठूलो हात रहन्छ । यदि उनीहरूले कामलाई निर्णायकको हातमा छाडिदिए यस्ता विवाद आउँदैनन् । केही फिल्मकर्मी अवार्ड पाउनका लागि जुनसुकै हदसम्म पनि पुग्ने गरेका उदाहरण छन् । अरू त अरू राष्ट्रिय अवार्डमा समेत यस्ताको बोलबाला हुने गरेको छ ।

अवार्डलाई मर्यादित बनाउन निर्णायकको सबैभन्दा ठूलो भूमिका रहन्छ । तर नेपालमा यस्ता जुरीहरूको सिन्डिकेट नै छ । जसले सुकै अवार्ड गरोस्, जुरी सदस्य उनीहरू नै हुन्छन् ।

पछिल्लो समय अवार्ड आयोजनामा आएको उछालले फिल्म अवार्ड फिल्मकर्मीलाई प्रोत्साहित गर्न मात्रै आयोजना हुने गरेको ओठे जवाफलाई शंकाको सुविधा दिन्छ । त्यसैले फिल्म अवार्डले राजधानी खाल्डो काटेर हङकङ, कतार, दुबई, मलेसिया, बेल्जियम जस्ता देशको शोभा बढाउन थालेका छन् । नेपालमा यसरी लगानी उठाउने फिल्मको संख्या भन्दा अवार्डको संख्या बढी हुन थालेको छ ।

अर्वाड ‘राम्रालाई भन्दा हाम्रा’लाई दिएको, बार्गेनिङ हुने गरेकोदेखि उत्कृष्ट फिल्म जुरीले नभई आयोजकले छान्ने सम्मका हल्लाले अवार्डको साख गिराएको छ । जस्तो नेफ्टामा उत्कृष्ट बाल कलाकारको अवार्ड अनुभव रेग्मीले अस्वीकार गरेका थिए ।

पैसा हालेर हङकङ जानुपर्ने आयोजकको प्रस्ताव अनुभवका अभिभावकले अस्वीकार गरेपछि उनको मनोनयन हटाइयो । तर, पछि फेरि उनलाई नै अवार्ड दिइयो र अनुभवले अस्वीकार गरे । त्यस्तै, संघको सदस्यता नवीकरण नगरेकाले विगत सम्पादक वनिस शाहलाई नेफ्टाले निषेध गरेको थियो ।

विकृति हावी भएपछि अवार्डप्रतिको आमदृष्टिकोण स्वाभाविक रूपमा नकारात्मक बनाएको छ । विकृति यति अकाशिएको छ कि फिल्मकर्मी स्वयंले अवार्ड बहिष्कारको घोषणा गर्न थालेका छन् । केही कलाकार तथा निर्माताले आफु र आफ्नो फिल्म अवार्डमा सहभागी नहुने घोषणा गर्नुले पनि अवार्डको स्तर कति खस्केको पुष्टि हुन्छ ।

अभिनेत्रीले नेपालमा आयोजना हुने अवार्डलाई ‘कोठे’को संज्ञा दिँदै बहिष्कार गरेकी थिइन् भने चलचित्र निर्देशक दीपेन्द्र के खनालले अघिल्लो नेफ्टा अवार्डबाट ‘झोले’ बाहिरिएको घोषणा गरेका थिए । उनले अवार्ड लिन पनि लाज लागेको भन्दै अघिल्लो साल ‘झोले’लाई सबै खाले मनोनयनबाट फिर्ता लिएका थिए ।

अवार्ड वितरणमा अन्याय भएको अनुभव गर्दै संगीतकार बसन्त सापकोटाले अवार्ड कार्यक्रममा बहिष्कार गरेका थिए । ‘अन्दाज’ फिल्मको ‘सिम्पल सिम्पल’को संगीतलाई नदिएर अरू कुनै संगीतलाई दिएपछि सापकोटाको मन कुँडिएको थियो । त्यसपछि उनले त्यो घोषणाको निरन्तरता दिन सकेनन् ।

‘साँच्चिकै बहिष्कार गर्छु भनेर सार्वजनिक घोषणा गरेको थिएँ तर सबैले गाली गरेकाले आजभोलि जान्छु । तर अवार्ड फेयर हुन्छ भन्ने विश्वास चाहीँ छैन,’ सापकोटाले भने ।

‘कोहिनूर’ निर्माताले एनएफडिसी अवार्डमा आफ्नो फिल्म सहभागी नगराउने घोषणा गरेका थिए भने ‘झोला’ फिल्मले पनि नेपालमा आयोजना हुने कुनै पनि अवार्डमा भाग नलिने घोषणा गरेको थियो ।

कलाकार भने खगेन्द्र लामिछानेले मौन रूपमा अवार्ड बहिष्कार गर्दै आएका छन् । खगेन्द्र न त सरकारले बाँड्ने राष्ट्रिय अवार्ड लिन गए नत कलाकार संघले बाँडेको फान अवार्डमा नै उपस्थित थिए । फिल्म निर्देशक विकास आचार्य पनि विरलै अवार्ड आयोजनामा पुग्ने गरेका छन् ।

आचार्य भन्छन् ,‘पाउन त मैंले ३७ वटा अवार्ड पाइसकेको छु । तर नेपालका अवार्डमा फेयरनेस हुन्छ जस्तो लाग्दैन । कसैले पनि आयोजकलाई सानो तिनो लोभमा पारेर अवार्ड लिन सक्छ ।’

उसो त संसारभरका फिल्म अवार्डमा विवाद हुनु सामान्य मानिन्छ । अवार्ड पाउँदा मख्ख पर्ने, नपाउँदा विरोध गर्ने प्रवृत्ति बाहिर पनि छ । ओस्कार र कान्सजस्ता निकै प्रतिष्ठित अवार्ड पनि कहिलेकाहीँ विवादमा पर्छन् । तर, ती अवार्डको नियत र प्रक्रिया पारदर्शी हुने भएकाले बढी विश्वसनीय छन् ।

करिब सात हजार जुरी हुने ओस्कार अवार्डमा हलिउडमा वर्षभर प्रदर्शन भएका फिल्महरूबीच उत्कृष्ट छानिन्छ, निर्मातासँग आयोजक र जुरीको प्रत्यक्ष साक्षात्कार हुनुपर्दैन, सम्बन्ध हुनु पर्दैन ।

कान्सको हकमा त्यहीँ प्रदर्शन भएका फिल्मबीच मात्र प्रतिस्पर्धा हुन्छ र निश्चित जुरी तोकिएका हुन्छन् । छिमेकी मुलुक भारतमा भने उत्कृष्ट चयन र वितरण प्रणाली उति पारदर्शी र स्तरीय मानिँदैन । त्यही कारणले पनि आमिर खान, अजय देवगण जस्ता कलाकारले भारतमा हुने यस्ता अवार्ड बहिष्कार गर्दै आएका छन् ।

नेपालमा बहिष्कार गर्नेहरूको जमात ठूलो छैन तर अवार्ड कार्यक्रममा फिल्मकर्मीको घट्दो उपस्थितिले यही संकेत गर्छ कि अवार्ड आयोजकहरू बेलैमा नसुध्रिने हो भने यस्ता कार्यक्रममा आयोजकका निम्तालु मात्र हलमा भेटिएलान् ।