१ कार्तिक २०८३, आइतबार

मुक्त हलिया परिवारलाई घर निर्माण गर्न सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, ११ पुस । पुनःस्थापनका लागि जग्गा उपलब्ध गराइएका  मुक्त हलिया परिवारलाई घर निर्माणका लागि भूमिसुधार कार्यालय कञ्चनपुरले एक लाख ४० हजारका दरले रकम उपलब्ध गराएको छ ।

सुडा गाविस–९ गयलनदीमा १८ परिवार र भीमदत्तनगरपालिका–१९ बागफाँटामा एक परिवारलाई आठ धुरका दरले आब ०७०–७१ मा जग्गा उपलब्ध गराइएका मुक्त हलिया परिवारलाई पुनःस्थापन कार्यविधिअनुसार पहिलो किस्ताका रुपमा सो रकम उपलब्ध गराएको हो ।

घर जग्गा नभएका ‘क’ वर्गको परिचयपत्र पाएका मुक्त हलिया परिवारलाई जग्गासहित घर बनाउने रकम उपलब्ध गराएको भूमिसुधार कार्यालयका प्रमुख जानकी कार्कीले  बताउनुभयो ।

रकम पाएपछि हलिया परिवार घर निर्माणमा जुटेका छन् ।  घर नहुँदा विगतमा सामुदायिक वनमा बस्दै आएका थियौँ, मोहन दमाईले भन्नु भयो, “पुनःस्थापनमा परेपछि घर जग्गा पाउँदा हर्षित भएका छाँैं ।”

चालु आबमा जग्गा खरिद गरी ‘क’ वर्गको परिचयपत्र पाएका घर जग्गा नभएका १५ परिवारलाई पुनः स्थापन गराउने, ‘ख’ वर्गको परिचयपत्र पाएका  १० परिवारको घर मर्मत गर्ने र पुनःस्थापनका लागि जग्गा पाउने र पाएका ६८ परिवारको घर निर्माण गर्ने भूमिसुधार कार्यालयको कार्यक्रम छ ।

विसं २०६५ मा मुक्त घोषणापछि कञ्चनपुरमा प्रमाणीकरणमा परेका हलिया परिवारको सङ्ख्या दुई हजार ५१६ छन् । जसमध्ये क वर्गको परिचयपत्र पाएका एक हजार ९४, ख वर्गको परिचयपत्र पाएका ५५४, ग वर्गको परिचयपत्र पाएका ३८ र घ वर्गको परिचयपत्र पाएका ५१६ परिवार छन् ।