१ कार्तिक २०८३, आइतबार

अब सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ बैशाख । सरकारले सबै खालका सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्न सुरु गरेको छ । बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयमा सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट गर्ने कार्यको शुरु गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले पदवहाली गर्दा गरेको पहिलो निर्णय अनुसार सरकारले बुधबारदेखि राजश्वमा विद्युतीय भुक्तानीको काम सुरुवात गरेको हो । उनले बैशाख एक गतेबाट राजश्वमा विद्युतीय भुक्तानी दिने निर्णय लिएता पनि १२ दिन ढिला गरी सुरुवात भएको हो ।

बुधबार करदाता सेवा कार्यलय ठमेलका प्रमुखले ‘आइडि पासवर्ड’ उपलव्ध गराएर अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्वमा विद्युतीय भुक्तानीको सुरुवात गरेका छन् ।

अब करदाताले बैंकमा जाने भौचर भर्ने, गुड फर पेमेन्टको नाममा रकम भेरीफाइ गर्नु पर्ने जस्ता कार्य गर्नु पर्ने छैन । यदि खातामा राजस्व बुझाउन प्रायप्त रकम छ र विद्युतीय कारोबार गर्न दक्ष भएमा घरमै बसेर काम गर्न राजश्व बुझाउन सकिने छ ।

उनले आर्थिक कारोबारलाई सहज बनाउन सरकारी आर्थिक कारोबार विद्युतीय प्रणालीबाट सुरु गर्ने कार्य शुरु गरिएको पनि स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले अब छिट्टै राजस्व संकलनको सबै काम यही प्रणालीबाट सुरु हुने घोषणा पनि गरेका छन् ।

उनले विद्युतीय प्रणालीबाट आर्थिक कारोबार गर्न आवश्यक कानुन, कार्यविधि र निर्देशिका निर्माणको काममा ढिलाई नहुने पनि स्पष्ट पारे । अर्थमन्त्री खतिवडाले विद्युतीय प्रणालीबाट सुरु गरिएको आर्थिक कारोबारलाई व्यवस्थित बनाउन मातहतका निकायलाई पनि निर्देशन दिए ।

यो सेवा केन्द्र बुधबार करदाता सेवा केन्द्र ठमेलबाट आरम्भ गरिएको छ । आगामी आर्थिक वर्षभित्र देशभर यो सेवालाई विस्तार गर्ने योजना बनाइएको राजस्व सचिव शिशिरकुमार ढुंगानाले जानकारी दिए ।