काठमाडौँ, ११ बैशाख । बुद्ध एयरले ७२ सिट क्षमताको थप एटिआर–७२ जहाज भित्र्याउन लागेको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।
नयाँ जहाजको कलसाइन 9N-AMU हुनेछ । एटीआरका अन्य विमानजस्तै यसमा पनि फराकिला सिट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुने बताइएको छ । वातावरणीय तथा ध्वनी प्रदूषणको हिसाबले एटीआर जहाज निकै किफायती मानिने बुद्ध एयरको दाबी छ ।
काठमाडौँको त्रिभुवन विमानस्थलमा दिनानुदिन बढ्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर ट्राफिकका कारण विशेषतः घरेलु उडानहरु समयमै उडान भर्न अप्ठयारो परिरहेको छ । यसबाट यात्रुसहित विमान कम्पनीलाई पनि निकै समस्या परेको छ । उडान ढिला हुनुमा अर्को मुख्य कारण खराब मौसम पनि भएको विज्ञहरु बताउँछन् ।
नयाँ जहाज आइसकेपछि अन्य विमानहरूको नियमित मर्मतसम्भार तथा उडानहरू परिचालन गर्न निकै सहज हुने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । प्रदेश नम्बर २ को राजविराज विमानस्थलको स्तरोन्नती लगभग पूरा हुन लाग्दा त्यहाँ विमानलाई तेल भर्नको लागि व्यवस्था गर्न पनि बुध्द एयरले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । आवश्यक तयारीपछि बुध्द एयरले एटीआर विमानबाट परीक्षण उडान भर्ने बताएको छ ।
सो नयाँ जहाज आएपछि कम्पनीसँग ११ वटा जहाज हुने बताएको छ । जसमा ७२ सिट क्षमताका ६ वटा एटिआर ७२–५००, ४२ सिट क्षमताका ३ वटा एटिआर ४२–३२० र १८ सिट क्षमताका २ वटा बीचक्राफ्ट १९०० डी रहेका छन् ।















प्रतिक्रिया