
काठमाडौं, ११ वैशाख । धेरैमा तीन विदेशी खेलाडीसहित पिचमा उत्रिनुपर्छ, क्रिकेटको क्लवस्तरीय खेल इन्डियन प्रिमियर लिग (आइपीएल)मा ।
क्रिकेटका फ्यान फलोइङ बढिरहेका बेला नेपाली खेलाडी सन्दिप लामिछानेले आइपीलमा पुग्ने मौका पाए । तर पिचमा उत्रिने मौका अहिलेसम्म पाएनन् ।
दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रूपैंयामा एक सिजनका लागि खरिद गरेका सन्दिपलाई ६ वटा खेलसम्म पिचमा नउतार्दा उसका नेपाली फ्यान निराश हुन थालेका छन् ।
दिल्लीले अहिलेसम्म एउटा पनि खेल जितेको छैन । विभिन्न क्लवका फ्यान रहेका नेपाली सन्दिपको प्रवेशसँगै दिल्लीको समर्थनमा थिए । तर सन्दिपले पिचमा उत्रिने मौका नपाउँदा अब सामाजिक सञ्जालमा ट्रोल बन्न थालेका छन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ता धेरै नेपालीले व्यंग्यात्मक शैलीमा लेखेका छन्,‘अरुले पैसा तिरेर हेर्ने क्रिकेट हाम्रा भाग्यमानी सन्दिपले २० लाख भारु लिएर हेर्न पाइरहेका छन् ।’
एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्,‘आज पनि पिचमा सन्दिप उतारेन भने दिल्लीको फ्यान नरहने घोषणा गर्दछु । पुरानै टिम मुम्बईमा सर्ने योजना छ ।’
सन्दिपको अभ्यास राम्रो रहेका कारण उनलाई चाँडो खेलमा उतार्ने दिल्लीका म्यानेजर रिकी पोन्टिङ्ले बताउँदै आए पनि अहिलेसम्म पिचमा उत्रिन पाएका छैनन् । सन्दिपलाई एउटा कुशल बलरका रूपमा दिल्लीले लगेको थियो ।















प्रतिक्रिया