चितवन, १० पुस । पर्यटकीय गन्तव्य चितवनको सौराहामा क्रिसमस र हात्ती महोत्सवको अवसरमा पर्यटकलाई ३० प्रतिशतसम्म छुट सुविधा उपलब्ध गराइएको छ ।
पर्यटकलाई खानामा २० प्रतिशत र बस्नमा ३० प्रतिशत छुट सुविधा दिइएको क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव राममणि खनालले जानकारी दिनुभयो । आज क्रिसमस भएकाले आन्तरिक पर्यटकको चाप अत्यधिक रहेको छ ।
उहाँका अनुसार हात्ती महोत्सवलाई केन्द्रित गरेर यो छुट सुविधा दिइएको हो । भोलि शुक्रबारदेखि पुस १५ गतेसम्म सौराहाको बाघमारा चौरमा चितवन हात्ती महोत्सव आयोजना हुँदैछ ।
पर्यटकको बसाइँ सौराहामा लम्ब्याउने लक्ष्यसहित विगत १० वर्षदेखि यहाँ अन्तर्राष्ट्रिय हात्ती महोत्सव आयोजना हुँदै आएको छ । हात्ती प्रतियोगितामा बेलायत,स्वीडेन,अस्ट्रेलियालगायतका प्रतियोगीले भाग लिदै छन् । सो अवसरमा गाडा दौड, टाँगा दौड तथा हात्ती सुन्दरी प्रतियोगिता समेत आयोजना गरिएको छ ।
यस वर्ष मुख्य गरी पहिलोपटक हात्तीको वनभोज कार्यक्रमसमेत आयोजना गरिएको सङ्घका सचिव दामोदर रेग्मीले जानकारी दिनुभयो । यो कार्यक्रम सबैका लागि आकर्षक बन्ने रेग्मीले बताउनुभयो ।
महोत्सव आयोजना भएपछि यहाँ अफ सिजनमा पनि पर्यटकको चाप बढेको व्यवसायीले बताएका छन् ।
सौराहामा अहिले १०० भन्दा बढी सुविधायुक्त होटल छन् । यहाँ दैनिक दुई हजार ५०० पर्यटक बस्ने क्षमता छ । करिब ७० भन्दा बढी रेष्टुराँ सौराहामा छन् ।















प्रतिक्रिया