४ कार्तिक २०८३, बुधबार

यी हिरोइनहरु, जो कहिल्यै उठ्न सकेनन्

31.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली फिल्ममा अभिनयको एउटा समयसीमामा सफलता हात नपरेपछि कतिपय अभिनेत्रीहरूले विवाह गरी विदेशिने क्रम छाडेका छैनन् ।

पेशाले पाइलट रोशन सापकोटासँग विवाह गरेकी सुमिना घिमिरे अहिले गुमनाम छिन् । अभिनयमा रम्दासम्म चुरीफुरी राम्रै थियो उनको । फिल्मबाटै नाम र दाम कमाउदै आएकी छु भनेर दाबी गर्ने सुमिनाले विवाहपछि फिल्मलाई चटक्कै छाडिन् । करिअर बनाउछु भनेर आए पनि उद्योगलाई चटक्कै माया मार्ने सुमिना एक्ली पात्र भने होईनन् ।

टाढाबाट हेर्दा रंगीन जस्तो लागे पनि नेपाली फिल्म उद्योग भित्रका ‘ब्ल्याक एण्ड ह्वाइट’का पत्र ठाउँ–ठाउँमा भेटिन्छन् । बहुसंख्यक निर्मातामा अहिले पनि व्यावसायिक सोच त छैन नै फिल्म खेलाउनुलाई ‘कृपा’ गरेको ठान्ने पनि पर्याप्त छन् ।

यस्तोमा कुनै व्यावसायिक सोच राख्ने कलाकार टिकेन भनेर दुःख मनाउ गर्नुको खास अर्थ पनि हुँदैन ।

क्षमता नभएकाहरू मात्रै पलाएन भएका भए ‘भाग्नेहरू भनेर’ टिप्पणी गर्न सकिन्थ्यो । तर, यहाँ केही बेजोड क्षमता भएकाहरू पनि पलायन भएका छन् । पुराना निर्देशक दयाराम दाहाल भन्छन् ‘हामी अझै व्यावसायिक हुन सकेका छैनौं ।’

फिल्ममा अझै कतिपय अवस्थामा निर्माता हावी हुने गरेको उल्लेख गरेका थप्छन् ‘ज्ञानै नभएको मान्छेले यसो गर उसो गर भनेर आदेश दिएपछि कस्तो होला ?’

निर्माताहरूको अव्यवासायिक सोचकै कारण केही क्षमतावान कलाकार पलायन भएको दाहालले स्वीकारे । विपना थापा, निरूता सिंह, जल शाह, सारङ्गा श्रेष्ठ लगायत धेरै हिरोईनलाई अभिनय गराएका दाहाल झरना थापा र रेखा थापा बाहेक धेरै कलाकार इतिहास भएको बताउँछन् ।

कुरो अभिनेत्रीमा मात्रै सिमित छैन । कुनै समयका सर्वाधिक लोकप्रिय दिलिप रायमाझी अमेरिकामा जागीरे जीवन बिताउँदै थिए । अहिले नेपाल फर्केका छन् उनी । उनकै सहमर्की एक्सन स्टार सुशिल क्षेत्री नेपालमै छन् तर, गुमनाम उत्तम प्रधान, सुधांशु जोशी, रमेश उप्रेती लगायतको लामै सूचि छ । जो लामो समय अभिनयमा टिक्न सकेनन् । र परदेशतिर पलायन भए ।

निर्माता केशव भट्टराई भन्छन्,‘नेपाली कलाकारले अझै भविष्य सुरक्षित देख्ने अवस्था सिर्जना भएको छैन।’ सिनेमाको कमजोर व्यापार, सानो बजार र लगानीको सीमितताको कारण निर्माताले मन फुकाएर कलाकारलाई पारिश्रमिक दिन सक्दैनन् ।’ अझ कतिपयले त नियतबस पनि नदिने गरेका छन् ।

कलाकारको एउटा पुस्तानै विस्थापित हुनुको कारण नेपाली सिनेमा निर्माण शैलीमा देखिएको परिवर्तन पनि हो । अहिले पुराना पुस्ता र नयाँ पुस्ताका फिल्मकर्मीबीच प्रतिस्पर्धा छ । प्रतिस्पर्धामा नयाँ पुस्ताका कलाकर्मी अगाडी देखिएकाले पुरानाहरू धर्मराउन थालेका छन् ।

निर्माताहरूले जसोतसो काम गरे जस्तो देखिए पनि कलाकारहरू लगभग विस्थापित छन् । पुराना कलाकारलाई फर्किन त्यति सजिलो नभएको फिल्मकर्मीहरू नै बताउँछन् ।

फिल्ममा नग्नता नबिकेपछि…
जीया केसीको चर्चा निकै थियो, एकताका । चलचित्र एटिएममा अभिनय गरेपछि चर्चामा आएकी जीयाको ज्यान देखाएरै हिट हुने सपना तुह्यो । पछिल्लो दुई वर्षदेखि फिल्मबाट गुमनाम जियाले बर्दाद लगायत केहि फिल्ममा अङ्ग प्रदर्शन गरेकी थिईन् । उनी अभिनेता भुवन केसीसँग बस्दै आएकी छन् ।

अङ्ग प्रदर्शन गरेरै चर्चामा आउने सपना पाले पनि बीचैमा सपना तुहाउन विवश एक्ली पात्र हैनन् जीया । जीया जस्तै अरू धेरै छन् । ति मध्ये कतिको घिसिपिटी यात्रा जारी छ त कति पलायन भैसके ।

अङ्ग प्रदर्शनकै कारण चर्चामा आउन चाहने शुभेच्छा थापा कहिले माछाले वक्षस्थल छोपेर फोटो सेसन गर्छिन् त कहिले टाङ खादा बेरेर प्रस्तुत हुन्छिन् ।तैपनि उनी निर्देशकको रोजाईको हिरोईन हुन सकेकी छैनन् । थोरै रकम लगानी गरेर भएपनि वेलामौकामा हिरोईनको रूपमा झल्किँदै आएकी छिन् ।

पूजना स्त्रीलाई पनि अङ्ग प्रदर्शन गरेरै हिट भएको आरोप लाग्ने गरेको छ । टु पीसमा फोटो सेसन गरेर चर्चामा आएकी पुजनाले रक्षा लगायतको फिल्ममा बेडसिन दिएकी थिइन् । रक्षाको अभिनयलाई जीवनकै भूलका रूपमा लिएकी पूजना भन्छिन् ‘नाङ्गीएर चर्चामा आईन्छ भन्ने विश्वास मलाई लाग्दैन ।’ पछिल्लो समय आफैं निर्माणमा लागेकी पूजना अब अङ्ग प्रदर्शन नगर्ने दाबी गर्छिन् ।

कुनै समय नायिकालाई चर्चामा आउनका लागि सबै भन्दा सजिलो माध्यम थियो ‘टु–पीस’ । छोटो लुगामा फोटो सेसनहरूले छिट्टै चर्चा पाएकाले पनि पनि नवोदित युवतीहरूको टु–पीस मोह बढेको छ ।

मोडलिङ मा टुपीस वा अरू छोटो लुगा करिअर धान्ने माध्ययम बने जस्तै चलचित्रमा आईटम डान्स एकथरी महिलाका लागि करिअर चम्काउने अवसर हुने गरेको छ ।

आइटम डान्सले करिअर चम्किन्छ भन्दै छोटो लुगा लगाएर क्यामेरा अगाडी मस्ती गरेका केही युवतीहरू यसरी पछारिएका छन् कि जसलाई अब उठ्न निकै गाहो पर्नेछ ।

सोभित बस्नेतको फिल्मवाट डेब्यु गरेकी सबिना कार्कीलाई पनि लागेको थियो– नमिलेकै किन नहोस् नाङ्गो ज्यान देखाएपछि चर्चामा आईन्छ । ‘दुलहीरानी’बाट रजतपटमा प्रवेश गरेकी सबिनालाई केही म्युजिक भिडियोबाट पनि प्रस्ताव आयो । यहिबीचमा ‘एटीएम’ मा मुख्य भुमिकाको अवसर पाईन् । उक्त चलचित्रको केही दृष्यमा बोल्ड अभिनय गर्दै भद्दा संवाद बोल्नुपर्ने थियो । उनले सोचिन् ‘यी सब मलाई चर्चामा ल्याउने साधन हुन् ।’

चलचित्र सुटिङ हुँदै गर्दा चर्चामा आएकी कार्की चलचित्र ‘रिलिज’ हुने बेलासम्म बद्नाम भईसकेकी थिईन् । अहिले केही म्युजिक भिडियोमा काम गरेर अभिनय तृष्णा मेटेकी सविनालाई नायिकाको प्रस्ताव राख्नेहरू छैनन् ।