१ कार्तिक २०८३, आइतबार

अलपत्र कालीगण्डकी करिडोरको निर्माण तीव्र

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्वत, ८ वैशाख । झण्डै एकदशकदेखि अलपत्र बहुचर्चित उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको निर्माण पर्वत खण्डमा तीव्र पारिएको छ ।

राष्ट्रिय गौरवको आयोजना चीन–भारत जोड्ने सबैभन्दा छोटो कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि फलेवास जोड्ने सडकखण्डको मार्ग खुलाउने तथा स्तरवृद्धिको काम तीव्रगतिमा अघि बढेको छ ।

करिडोरअन्तर्गत रानीपानी–फलेवास सडकखण्डको स्तरवृद्धि गर्न चालु आर्थिक वर्षमा रु ३९ करोड बजेट विनियोजन भएपछि निर्माण अघि बढेको छ ।

उक्त सडकखण्डको काम एक वर्षभित्र नै सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ । अहिले मार्ग खुलाउने, पहिले खनिएको सडक चक्ल्याउने, तारजाली हाल्ने, नालीसेतु बनाउने, नाली काट्नेलगायत काम भइरहेको आयोजनाले जनाएको छ ।

करिडोरकै अर्को खण्ड छिमेकी जिल्ला बागलुङ हुँदै खनिएपछि ओझेलमा परेको पर्वत खण्डले चालु आवमा आएर पूर्णता पाउने भएको प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिनुभयो । आफ्नो लामो समयको प्रयासपछि उक्त बजेट विनियोजन गर्न सफल भएको बताउँदै उहाँले अब यसलाई सम्पन्न गराएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।

यही महिनादेखि निर्माण दु्रतगतिमा भइरहेको गैँडाकोट–राम्दी–मालढुंगा आयोजना आयोजना कार्यालय पाल्पाले जनाएको छ । उक्त करिडोर १० मिटर फराकिलो बनाइनाका साथै घुम्ती तथा ग्रेड सुधार र ह्युम पाइप, नालीसेतु निर्माणजस्ता काम चालु आवभित्रै सक्नेगरी काम भइरहेको छ । सडकको निर्माण गर्ने जिम्मा पाएको महालक्ष्मी सिंह एण्ड ब्रदर्श कम्पनीले जतिसक्दो छिटो सम्झौताबमोजिम काम गर्नेगरी जनशक्ति परिचालन गरिएको जनाएको छ ।

उक्त सडकको हालै प्रदेशमन्त्री लम्सालले शुभारम्भ गर्दै भारतबाट चीनको कोरला नाका जोडिएकाले सो सडक यस क्षेत्रको विकासका लागि मेरुदण्ड भएको बताउनुभयो । करिडोर निर्माणपछि यस क्षेत्रको ग्रामीण भेगका आर्थिकरूपले पछाडि परेका नागरिकको दैनिकीमा थप सुधार हुनाका साथै गरीबी निवारणमा सहयोग पुग्ने मन्त्री लम्सालको भनाइ छ ।

“यो करिडोरले हिन्दूहरूको पवित्र तीर्थस्थल मुक्तिनाथ धाम र बौद्ध धर्मावलम्बीको धार्मिक स्थल लुम्बिनीलाई पनि सीधा जोड्छ”, मन्त्री लम्सालले भन्नुभयोे, “यसले गर्दा पर्यटक हिँड्ने बाटो भनेको यहीँ हुनेछ ।”

स्याङ्जाको मिर्मीदेखि पर्वतको अर्मादीसम्मको कूल ५४ किमी सडकखण्डमध्ये अब झण्डै सात किमी मात्रै खुल्न बाँकी छ । पर्वत खण्ड बागलुङ खण्डभन्दा झण्डै ३० किमी छोटो हुने भएकाले यस क्षेत्रबाट सवारी आवतजावत बढी हुने स्थानीयवासीको विश्वास छ ।

त्यस्तै कृषिजन्य उत्पादन, पर्यटन विकास, विद्युत् उत्पादन, उद्योग स्थापनामा समेत यो करिडोरले टेवा पु-याउने देखिन्छ ।

कालीगण्डकी करिडोरको पर्वत खण्डबाट जिल्लाको कुश्मा र फलेवास नगरपालिका तथा बिहादी गाउँपालिकाका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुने भएका छन् ।

अलपत्र करिडोरको काम सञ्चालन भएपछि दक्षिण पर्वतको बिहादी गाउँपालिकाका बासिन्दा अझै बढी हर्षित बनेका छन् । बाटो बनेपछि उनीहरु सहजरुपमा सदरमुकाम आवतजावत गर्न सक्नेछन् । – रासस