लण्डन, ७ वैशाख । स्पेनिस क्लव मालागा स्पेनको शीर्ष फुटबल लिग ला लिगाबाट रेलिगेशनमा परेको छ । लिग अन्तर्गत विहीवार राति भएको खेलमा लेभान्टेसँग पराजित भएपछि मालागा रेलिगेशनमा परेको हो ।
यो सिजन युरोपका शीर्ष पाँच लिगबाट रेलिगेशनमा पर्ने पहिलो टिम बनेको छ मालागा । घरेलु मैदानमा भएको खेलमा लेभान्टेले मालागालाई १–० ले हराएको हो ।
पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा इन्जुरी समयको तेस्रो मिनेटमा बोएटेङ्गले लेभान्टेका लागि विजयी गोल गरे । उनको गोल मालागाका लागि शीर्ष लिगको यात्रा टुंगिने कारण बन्यो ।
लिगमा पाँच खेल बाँकी हुँदै मालागा रेलिगेशनमा पर्ने पक्का भएको हो । उसले ३३ खेलबाट मात्रै १७ अंक जोडेको छ । मालागा सन् २००८ देखि लगातार ला लिगामा थियो । मालागाले पाँच वर्ष अघि च्याम्पियन्स लिगमा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको थियो । – एजेन्सी















प्रतिक्रिया