
काठमाडौँ, ५ बैशाख । मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अनुपमा खुञ्जेली नियुक्त भएकी छन् । मेगा बैंक लिमिटेड सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले बैशाख २ गतेबाट लागू हुने गरी खुञ्जेलीलाई सिइओ नियुक्त गरेको हो ।
उनले सोही दिनबाट औपचारिक रुपमा पदभार ग्रहण गरिसकेकी छन् । यससँगै ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर समेत बनेकी छन् ।
सिइओ नियुक्त भएपछि उनले मेगा सञ्चालक समितिले दिएको जिम्मेवारीप्रति धन्यवाद दिंदै आभार व्यक्त गरेकी छन् । मेगा बैंकका संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहक, कर्मचारी एवं समस्त सरोकारवालाहरुको विश्वास जित्ने गरी बैंकलाई अगाडि बढाउन आफू प्रतिवद्ध रहेको उनले बताइन् । थप लोकप्रिय एवं नविनतम योजनाहरु ल्याएर बैंकलाई देशको अग्रणी बैंकको रुपमा स्थापित गर्ने खुञ्जेलीको अठोट छ ।

मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले नवनियुक्त सिइओ खुञ्जेलीले मेगालाई सफलताको नयाँ उचाईमा पु¥याउनेमा संचालक समिति विश्वस्त रहेको बताए । नेपालको इतिहासमै पहिलो महिला सिइओ बन्ने अवसर प्राप्त गरेकोमा उनले बधाई र कार्यकाल सफलताको कामना गरे ।
यसअघि कायममुकाम सिइओ रहेकी खुञ्जेली स्थापना कालदेखि नै मेगा बैंकमा कार्यरत छन् । ८ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी खुञ्जेली नायब प्रमुख कार्यकारी अधिकृत हुँदै कायममुकाम सिइओ बनेकी थिइन् ।

सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २७ वर्षको बैंकिङ करिअरको अनुभव छ ।















प्रतिक्रिया