
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण दलमा कलाकारका तर्फबाट सहभागी भएका अभिनेता राजेश हमाललाई नेपाली फिल्म उद्योगमा ‘अनौपचारिक’ सम्बोधन छ– महानायक !
नेपाली फिल्म उद्योगमा तीन दशकको योगदान गरेका हमालको अभिनयको उचाई फरक छ । एक दशकभन्दा बढि उद्योगमा एकाधिकार जमाएका हमालको फिल्मी करिअर अन्यको भन्दा सफल र व्यावसायीक पनि छ । उनी केही समयमा फिल्म निर्देशनमार्फत उद्योगमा फरक धारमा उदाउने प्रयासमा पनि छन् । उनै हमालले करिअरको सुरूआतमा भने पहिलो फिल्मबाट हटाइएका थिए ।
उद्योगमा उनको पहिलो फिल्म ‘युगदेखि युगसम्म’ भनेर चिनिए पनि ‘भाग्यरेखा’बाट पर्दापणको तयारी गरेका थिए । दिपक रायमाझीले नै निर्देशन गरेको भाग्यरेखाको छायाङ्कनका क्रममा विवाद भएपछि उनलाई हटाइएको थियो । उनी सम्झन्छन्,‘खै केही कारणले त्यो फिल्म रोकिएको थियो ।’
कुटनीतिक नियोगका कर्मचारीको घरमा जन्म लिएका, दुई दिदीहरू डक्टर पाएका हमाल भने फरक धारमा लागेका थिए । जुनबेला सिने क्षेत्रमा नाम र दाम दुवैको चर्चा कम थियो त्यसबेला यहि क्षेत्रमा प्रवेश गर्नाले उनको बुवासँगको सम्बन्ध केही समयका लागि चिसो बनेको थियो । बाबु चुडाबहादुर हमाल चहान्थे, एकमात्र छोरा कुटनीतिक नियोगमा लागोस् अथवा सरकारी जागिरमा लागोस् वा डक्टर बनोस् । तर उनले बाबुको चाहनाभन्दा फरक विधा घरमा थाहा नै नदिई रोजिसकेका थिए । भारतको नयाँदिल्लिस्थित नेपाली दूतावासमा बाबुको जागिर भएको बेला उनी यता फिल्मी लाइनमा छिरीसकेका थिए ।
‘४०–४५ दिन समय निकाले फिल्ममा खेल्न पाइने भएपछि म काठमाडौं आएको बेला नारायणगढमा फिल्मको सुटिङका लागि पुगेको थिएँ, जुन घरमा थाहा थिएन’, हमाल सम्झन्छन्,‘तर त्यो फिल्मबाट विविध कारणले मलाई हटाइयो । म हिरो बन्न लायक छैन भन्ने ठानें ।’
पाल्पाको भैरवस्थानमा जन्मिएका हमाललगायत उनका दिदीहरू लिएर बाबु चुडाबहादुर हमाल र आमा रेणु केसी (हमाल) उनी एक वर्षको हुँदा नै काठमाडौं सरिसकेका थिए । जसका कारण उनलाई पाल्पाको धेरै अनुभव छैन । तर, कुटनीतिक नियोगमा जागिरमा रहेका बाबुका कारण उनी रूस र भारत निक्कै समय बसे । रूसको कलेज समयमा उनलाई फिल्मप्रति थोरै चासो बढेको थियो । समाजका चरित्र, घटना र प्रगतिशिल फिल्महरू बन्ने कारणले पनि उनलाई त्यतातिर ध्यान खिचेको थियो । जीवनमा हरेक प्रकारको फिल्ममा अभिनय गरेपनि अहिलेपनि उनी त्यस्तै फिल्म मन पराउँछन् । भन्छन्,‘म फ्यान्टासी भन्दा यस्तै फिल्महरू बढि मन पराउँछु ।’
बाबु र आमाको प्रेमविवाह भएको सम्झना गरेका उनी भन्छन्,‘बुवा भारतमा पढ्ने आमा पनि लखनऊको मुस्लिम कलेजमा पढ्नुहुन्थ्यो । त्यसबेला उहाँहरूको भेट रेलमा भयो की कहाँ त्यसरी विवाह भएको रहेछ ।’ आफु पनि जीवनको अधिक उमेरमा प्रेम बन्धनमा बाँधिएका हमालले फिल्म करिअर यति लामो जान्छ भन्ने सोचेका थिएनन् ।
भाग्यरेखा सुरू गर्दा उनले आफुमा फिल्मप्रति जागिरहेको भित्री इच्छा पुरा गर्ने माध्यमका रूपमा मात्र लिएका थिए । तर, भाग्यरेखाबाट हटाइएपनि त्यसको दुई वर्षपछि उही हिरोइन र निर्देशक रहेको फिल्म युगदेखि युगसम्मका लागि उनलाई अफर आयो । अनि उनले ठाने– म कलाकारिता नजानेर होइन, अन्य कारणबाट निकालिएको रहेछु । त्यसपछि उनले युगदेखि युगसम्ममा अभिनय गरे जुन नेपाली सिने जगतको फरक धारको फिल्ममात्र आएन, राजेश हमाल युगको स्थापना गर्ने मुलविन्दु पनि बनिदियो ।
‘यतिबेलासम्म आइपुग्दा मलाई सिनेमामा पहिलो छाप बसाउने रूसको अध्ययनको समय थियो भन्ने लाग्छ ।’, उनी भन्छन्,‘प्रायजसो रूसका फिल्महरू पूर्वी युरोपियन क्षेत्रहरू कम्युनिस्ट राज्यहरूको प्रभावका आधारमा बन्थे । पूर्वी युरोप र पश्चिममा बन्नेभन्दा फरक फिल्म बन्थे । म हेर्थे । मेरो आइडोलोजी र वास्तविक जीवनसँगका फिल्महरू बन्ने गरेका कारणले म प्रेरित भएको थिएँ ।’

उनलाई जीवन दर्शन दिने फिल्महरू मन पर्छन् । ‘म कमर्सियल फिल्म पस्कने मान्छे हुँदा पनि मलाई फरक प्रकारका फिल्म मन पराउँछु ।’ उनले भने ।
भारतको पञ्जाब युनिभर्सिटी चन्दीगढमा आफ्नो उच्च अध्ययन गरेका हमाल कहिले पनि भारतीय फिल्मबाट प्रभावित भएनन् । फिल्म हेरि हाल्ने खालको मान्छे भएपनि उनले बलिउड फिल्ममा त्यति रूची देखाएका थिएनन् । फिल्मकै कारण बुवाको सोचाइको ठूलो क्रमभंगता हुन्छ भन्ने उनले बुझेका थिए ।
जब सफलताका स्वादहरू चाख्न थाले उनले अहिलेसम्म पछाडी फर्केर हेर्न परेको छैन । उनलाई लाग्छ यो यात्रामा उनी एक्लै सफल भएका होइनन्, यो यात्रामा व्यक्तिगत करिअर र चलचित्रको प्रगति समानान्तर भयो । ‘मेरो करिअरको ग्राफ बन्यो, फिल्म क्षेत्रको ग्राफ बढ्यो । छैठौं वर्षसम्म आउँदा त म एकै पटक २/३ फिल्मको सुटिङमा जान्थे ।’, उनी स्मरण गर्छन्,‘म त्यति धेरै व्यस्त हुन थालेपछि फिल्म क्षेत्रमा केही परिवर्तन भएको हो की भन्ने लागेको थियो ।’
अहिले यहि क्षेत्रको विशाल व्यक्तित्वको पगरी उनले पाउने गरेका छन् । तर, उनी त्यो पगरीको रक्षात्मक व्यवाहर नै प्रमुख रहेको ठान्छन् । ‘व्यक्तित्व पाउनु ठूलो कुरा होइन, त्यसलाई जोगाउनु ठूलो कुरा हो । म आफुलाई सामान्य नै ठान्छु ।’, भन्छन्,‘यसलाई जोगाउन सक्नुपर्छ ।’
फिल्मी क्षेत्रमा तीन दशकसम्म निरन्तर कव्जा गरेर बस्नसक्नु असामान्य कुरा हो, नेपालमा । परिवर्तित समयसँगै फिल्मी क्षेत्रले पनि फरक स्वाद दिने प्रयत्न गरेको छ । यो यात्रामा कयन कलाकाररू विस्थापित पनि भइसकेका छन् । कोही विदेशमा छन् भने कोही अन्य पेशामा लागेका छन् । हमालसँग सहकार्य गरेका कतिपय अभिनेत्रीहरू अहिले पनि बजारमा देखिँदैनन् । तर, आफुलाई अपडेट गर्न सके सिने क्षेत्रमा पछि पर्नुपर्दैन भन्ने उदाहरण हुन् उनी । त्यतिमात्र होइन नेपाली सिने क्षेत्रले अध्ययन र व्यक्तित्वलाई पनि उत्तिकै सम्मान गर्ने गरेको छ । हमालको उदय एउटा अध्ययन गरेको युवकमात्र नभएर सभ्य आचरण भएको अभिनेताका रूपमा पनि भयो ।
अहिले हमाल आफुलाई अपडेट गर्न सफल पनि छन् । सिने करिअरको यो बेला उनले सकुन्तला (युवती) बनेर पहिलो पटक अभिनय पनि गरेका छन् । उनको स्वरूप परिवर्तित भएर फिल्ममात्र होइन, विभिन्न कार्यक्रमहरूको तयारी पनि भएको छ । जीवनमा शंकरदेखि सकुन्तलासम्मको भुमिकामा उत्रिनसक्ने हमालले महानायकको पगरी यत्तिकै भने पाएका होइनन् ।
उनको व्यक्तित्वका अगाडी अनेक विरोधाभाषहरू पनि आए । उनलाई विहे गर्न चहान्छु भन्ने बालिकादेखि श्रीमति हुँ भनेर दाबी गरी उजुरी गर्नेहरूलाई पनि फेस गरिसके । फिल्मी क्षेत्रको ‘स्टारडम’का कारण उनीप्रति हुरूक्कै हुनेहरू अहिले पनि कम छैनन् । ‘यस्ता धेरै अनुभव छन् । चितवनदेखि काठमाडौंसम्मका अनेक प्रकारका परिघटनाहरू छन् जसलाई यहि क्षेत्रमा लागेको हुनाले सामान्य ठान्नुपर्छ भन्ने लाग्छ ।’, उनी भन्छन्,‘यो यात्रालाई यसरी नै सरल मान्नैपर्छ ।’















प्रतिक्रिया