म्याग्दी, ८ पुस । म्याग्दीको जिल्ला अस्पताल बेनीमा दाता खोजेर पूर्वाधार जुटाउन थालिएको छ ।
अस्पतालको क्षमता विस्तार र भवन निर्माणका लागि स्वास्थ्य मन्त्रालयलगायतका निकायमा एक दशकदेखि पहल गरे पनि सुनुवाइ हुन नसकेपछि विदेशमा रहेका म्याग्देली, स्थानीय व्यक्ति र सङ्घसंस्थामार्फत पूर्वाधार विस्तारको काम गरिएको हो ।
जिल्ला अस्पतालमा कोरियामा रहेका म्याग्देलीको रु २१ लाख लगानीमा आकस्मिक उपचारकक्ष, बहराइनमा रहेका म्याग्देलीको सहयोगमा बिरामी कुरुवा भवन र विकास नेपाल एसोसिएसन बेल्जियमको सहयोगमा रक्तसञ्चार एवम् आँखा उपचार केन्द्रको भवन निर्माण भएको छ ।
अस्पतालमा विभिन्न दाताले बिरामीका लागि शय्या, उपचारमा प्रयोग हुने उपकरण पनि सहयोग गरेका छन् ।
यसैगरी बेनी नगरपालिका वडा नं ५ छापाका निर्माण व्यवसायी नारायण जिसीले व्यक्तिगत लगानीमा अस्पतालमा शल्यक्रिया गरेका बिरामीलाई विश्राम गर्ने भवन निर्माण सुरु गर्नुभएको छ ।
आफ्नी दिवङ्गत बहिनी गङ्गा जिसीको स्मृतिमा सात लाख लगानीमा भवन निर्माण सुरु गर्नुभएको अस्पताल विकास समितिका अध्यक्ष चन्द्र केसीले जानकारी दिनुभयो ।
आकस्मिक प्रसूति सेवा लिएका बिरामीलाई शल्यक्रियापश्चात् सङ्क्रमण रोकथामका लागि सुरक्षित रुपमा राख्नका लागि कोठाको अभाव भइरहेको अवस्थामा भवन निर्माण भएपछि ठूलो राहत पुग्ने अस्पतालका चिकित्सक सन्देश पन्तले बताउनुभयो ।
अस्पतालको क्षमता विकास गरी २५ शय्या बनाउने र पूर्वाधार तयारका लागि स्वास्थ्य मन्त्रालयमा पटकपटक माग गरे पनि सुनुवाइ हुन सकेको छैन । पर्याप्त भवन र पूर्वाधार अभाव हुँदा अस्पतालको सेवा प्रभावित बनेको स्वास्थ्यकर्मी एवम् सेवाग्राहीको गुनासो छ ।















प्रतिक्रिया