बाकु, ३० चैत । अजरबैजानका वर्तमान राष्ट्रपति इल्हाम अलियेभ चौथो कार्यकालका लागि पनि राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
बिहीबार सार्वजनिक भएको राष्ट्रपतीय निर्वाचनको नतिजाअनुसार उनले कुल मतको ८६.३ प्रतिशत मत ल्याएका छन् ।
अजरबैजानमा नयाँ राष्ट्रपति चयनका लागि केन्द्रीय निर्वाचन आयोगले बुधबार निर्वाचन गराएर बिहीबार नतिजा सार्वजनिक गरेको हो ।
उनका निकटम प्रतिद्वन्द्वी जाहिड ओरुजले ३.११ प्रतिशत मात्रै भोट ल्याएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा विभिन्न पक्षका गरेर कुल आठ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए ।
निर्वाचित भएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूलाई समर्थन र विश्वास गरेकोमा अजरबैजनका नागरिकलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले भने, ‘अजरबैजनका नागरिकले सुरक्षा र सम्वृद्धिका लागि मलाई मतदान गरेका हुन्, म त्यही अनुसार काम गर्नेछु ।’
उनको अबको कार्यकाल सात बर्षको हुनेछ । गत सन् २०१६ मा संविधान संशोधन गरेर राष्ट्रपतिको पाँच वर्षे कार्यकाललाई बढाएर सात वर्षे बनाइएको हो ।
अजरबैजानको संविधानले राष्ट्रपतिलाई आकस्मिक निर्वाचन आह्वान गर्ने अधिकार समेत दिएको छ । – सिन्ह्वा















प्रतिक्रिया