काठमाडौं, २८ चैत । कास्टिङ काउचको सांकेतिक विरोधका लागि दक्षिण भारतीय फिल्म उद्योगमा संघर्षरत एकजना अभिनेत्री श्री रेड्डी मल्लिडीले फिल्म स्टुडियो बाहिर सर्वाङ्ग भइन् । उनले यसो गर्नुको कारण आफू बेसहारा भएको प्रतिक्रिया दिएकी छन् । ‘यो लडाईमा म एक्लो भएर यति ठूलो कदम उठाउनु परेको हो ।’, उनले मिडियाहरूमा भनेकी छन् ।
गएको साता उनले गरेको यो सांकेतिक विरोधले तेलगु फिल्म उद्योगसँगै बलिउडमा हंगामा मच्चिएको छ । युरोपमा एकताका अंगप्रदर्शन अधिकार र महिला हिंसाको विरोधमा युवतीहरूले यस्तो विरोध चलेको थियो । जर्मनदेखि बेलायतसम्म युवतीहरू नाग्गै विरोध प्रदर्शनमा उत्रिएका थिए । पश्चिमा शैलीको विरोध अपनाएर रेड्डीले फिल्मभित्रको यौनहिंसाको बाध्यात्मक अवस्था उजागर गरेकी छन् । सरकारलाई सुनाउन आफूले यो प्रकृतिको विरोध जनाएको उनको टिप्पणी थियो ।
उनको विरोधको शैलीबारे अहिले भारतमा समर्थन र आलोचनामा बहस जारी छ । यहि बहस नेपालमा कत्तिको सान्दर्भिक छ ? नेपाली फिल्म उद्योगमा पनि ‘कास्टिङ काउच’को शिकार भएका छन् त अभिनेत्रीहरू ?

गत वर्ष यो प्रकरणको सामान्य संकेत दिएकी थिइन् अभिनेत्री स्यारोन श्रेष्ठले । सायद २ की अभिनेत्रीले निर्माता सुनिल रावललाई प्रेमिका बन्न प्रस्ताव गरेको अभियोग लगाइन् । यो घटना सतहसम्म पुग्नुअघि साम्य पारिएको थियो ।
व्यावसायीक फिल्मका कुरा गरेपनि नयाँ पुस्तालाई अभिनयमा ल्याउने बाहनामा चलेकै निर्माता निर्देशकले पनि नेपालमा यस्तो प्रस्ताव राख्ने गरेको खुलासा हुन थालेको छ ।
पव्लिसिटी र पैसा दुवैको भरपूर प्रयोग हुने भएकाले पनि मिडिया क्षेत्रको फिल्मनगरीमा यौन ‘ओपन सेक्रेट’ विषय बनिरहेको छ । कतिपय अभिनेत्रीहरूले फिल्म पाउने अवसरमा आएका यस्ता हल्लालाई सावित गर्ने प्रयत्न पनि गरेकै छन् । यस्ता प्रस्तावबाट बनेका सम्बन्धहरू भत्काएर पनि चर्चामा रही आएका छन् ।
रङ्गिन दुनियाँमा नाम र दामको पछाडी लागेका युवतीहरू अक्सर कास्टिङ काउचको शिकार हुने गरेका छन् । पर्दाभित्रका खेलाडीहरूले यस्तो प्रस्ताव गरेका उदाहरण सामाजिक सञ्जाल र मिडियामा व्यापक हुने गरेका छन् । ‘बिर्खेलाई चिन्छस्’ भन्ने फिल्मकी अभिनेत्री आयुषा राईले म्युजिक भिडियो निर्देशक शिशिर कोइरालाले ‘म मौका दिन्छु, तिमी यौवन देऊ’ भन्ने शैलीले आफुलाई प्रस्ताव गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा च्याटको स्क्रिन सर्टसहितको तस्बिर राखेर खुलासा गरेकी थिइन् । यसले नेपाली फिल्म उद्योगमा कास्टिङ काउचको प्रयत्न निक्कै तेज गतिमा हुने गरेको सावितको चरणमा पुरायो ।
एकजना अभिनेत्रीका अनुसार निर्माता निर्देशकले अभिनेत्रीलाई यौन प्रस्ताव राख्ने कुरा असामान्य नभएको बताइन् । आशय र इच्छाका हिसाबले बुझ्ना प्रायःजसोको यहि नियत हुने गरेको उनले बताइन् ।
‘मैले कुनै ठूलो इस्यु बनाउन त्यसो गरेकी थिइनँ । यहाँ काम गर्ने महिला कलाकारहरूमाथि हुने दुव्र्यवहार मैले पनि भोगें अनि सबैलाई सजग गराउन र उसलाई सबक सिकाउन मैले उक्त स्टाटस अपडेट गरेकी थिएँ, तर यो यत्रो इस्यु बन्छ भन्ने थिएन,’ आयुषाले नै त्यसबेला कतिपय मिडियामा भनेकी थिइन्,‘यस्तो खुलासा गर्नु स्वभाविक ठानें ।’
कुरा जे भए पनि यो घटनापछि नेपाली चलचित्रमा महिलाहरू कति सुरक्षित छन् ? बहसको विषय भएको छ । कतिपय हिरोइनहरूले यस्ता प्रस्ताव आइरहने सांकेतिक उत्तर मिडियामार्फत नै दिएका छन् । अभिनेत्री अशिष्मा नकर्मीले एउटा मनोरञ्जनात्मक साप्ताहिक पत्रिकासँग भनेकी थिइन्,‘यहाँ कसैसँग बोल्न पनि डराउनु पर्ने स्थिति छ । कसको मनमा के हुन्छ ? कसरी थाहा पाउने ? दुई÷चार कुरा राम्रोसँग गरेको खण्डमा उसले बदनियतले हेरिरहेको हुनसक्छ ।’
हात मिलाएको र अँगालो मारेको भरमा फलानो महिला कलाकारसँग मेरो अन्तरंग सम्बन्ध छ भनेर धाक जमाउनेहरू व्यापक रहेको पनि उनले खुलासा गरेकै हुन् ।
चलचित्रको भाषामा ‘कास्टिङ’ (पात्रको निर्धारण) र काउच (सोफा वा आरामदायक शैया) हो । चलचित्रमा पात्र चयनका क्रममा कुनै पुरूष (निर्माता, निर्देशक, कास्टिङ डाइरेक्टर) नवप्रवेशी महिला कलाकारसँग यौन क्रियाकलाप गर्ने चाहना राख्छ वा त्यस्ता गतिविधिमा संलग्न भए मात्र पात्रका रूपमा चयन गर्ने कुरा गर्छ भने त्यस्तो कार्यलाई ‘कास्टिङ काउच’ भनिन्छ ।
कतिपय अवस्थामा भने रङ्गीन दुनियाँमा आउन जे पनि गर्न तयार छु भन्ने अभिनेत्रीहरूको चरित्रकै कारणले पनि नेपाली फिल्म उद्योगमा नकारात्मक छवि हावी हुन थालेको छ । खासगरी नाङ्गीएर तस्बिर हाल्ने, च्याटमा एउटा मौकाका लागि जहाँ पनि जाने, जे पनि गर्ने युवतीहरूको पनि कमी छैन । कतिपयले भने प्रेम सम्बन्ध स्थापित गरेर अवसर लिने र आफू हावी भएपछि त्यस्ता सम्बन्धलाई ‘प्रोपोगान्डा’ बनाउने चलन पनि फिल्म उद्योगमा कम छैन ।

‘फिल्मी क्षेत्रमा हुने यस्ता गतिविधि सुसुप्त छन् । प्रायःले मौका लिन र मौका दिनका लागि पनि यसरी कास्टिङ काउच प्रकरण चलाउने गरेका छन्’, कलाकार संघका सदस्य भानु प्रताप भन्छन्,‘कलाकारले आफ्नो कलाको महत्वलाई देखाउन आवश्यक छ अन्य विषयलाई खुलासा गर्नु राम्रो हुन्छ ।’
नेपाली फिल्म नगरीमा कतिपय निर्माता र निर्देशकका नीजि अभिनेत्री नै पनि छन् । फिल्ममा तिनले भन्दा अन्यको मौका नै नहुने अवस्थालाई संकालु दृष्टिले हेर्ने प्रवित्ति पनि कम छैन । नेपाली फिल्ममा लगानीकर्ता खोज्नका लागि कतिपय निर्देशकले आकर्षक हिरोइनकै अफर दिने गरेका पनि हल्ला बजारमा चल्ने गरेका छन् ।
केही महिना अघि उद्योगकै संगित क्षेत्रमा यस्ता घटनाको उजागर गर्दै ५ गायिका मिडियासम्म पुगेका थिए । ‘एकजना चलेका संगीतकारले मलाई गीतको मौकाका लागि रात नै विताउनुपर्ने सम्मको प्रस्ताव गरे । मैले उनीसँगको चिनजान नै टुटाएँ’, एकजना नवगायिकाले भनिन्,‘कला भएर पनि संघर्षका लागि कास्टिङ काउच बनाउने प्रवित्ति नेपाली कलाकारिताको उद्योगमा पर्याप्त देखिएको छ ।’















प्रतिक्रिया