३ कार्तिक २०८३, मंगलबार

विरोधीहरूलाई तह लगाउन बनाए देउवाले नयाँ योजना, आफ्नै गुट छैन सन्तुष्ट

2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ चैत । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा रिक्त पदाधिकारी मनोनयनका लागि तयारी अघि बढाएका छन् ।

स्रोतका अनुसार ३ वैशाखदेखि पुनः सुरु हुने स्थगित केन्द्रीय समितिको बीचमा नै पदाधिकारी मनोनीत गर्ने र केन्द्रीय समितिबाट त्यसलाई अनुमोदन गर्ने देउवाको तयारी छ । ३ वैशाखबाट पुनः सुरु हुने केन्द्रीय समितिको बीचमा यी विषयमा निर्णय हुन सक्ने सम्भावना छ ।

आफ्नै समूहका भनिएका धेरै नेता आकांक्षी भएपछि देउवाले १३औं महाधिवेशन सकिएको २६ महिना बित्दासम्म पनि केन्द्रीय समितिलाई पूर्णता दिन सकेका छैनन् । यसपटक भने उनले संसदीय दलको निर्वाचन समेत सकिएको र आफूलाई सहयोग गरेकाहरूको सूची नै बनाएर जिम्मेवारी सुम्पिने तयारी गरेका हुन् । केन्द्रीय समितिमा सो सूचीलाई ल्याउने र बैठकबाटै टुंगो लगाउने स्रोतको दाबी छ ।

पार्टीभित्र रिक्त पदाधिकारीसहित केन्द्रीय सदस्य र बाँकी अन्य निकाय गठन गर्न ढिला हुँदा सभापति देउवाको पार्टीभित्र चर्को आलोचना हुने गरेको छ । कांग्रेस विधानको धारा ४९ को उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था छ । बैठकमा केन्द्रीय सदस्य भने थप हुने सम्भावना छैन ।

यसपटक भने देउवाले उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी तीनै जना आफ्नै खेमाको पार्ने गरी रणनीति बनाएको स्रोतले बतायो । पार्टी विधानमा व्यवस्था भएअनुसार सभापतिले एक जना उपसभापति, एक महामन्त्री र एक जना सहमहामन्त्री केन्द्रीय समितिमा प्रस्ताव गर्न पाउनेछन् ।

देउवाले विमलेन्द्र निधिलाई उपसभापति बनाउने मनस्थिति बनाएको एक नेताले बताए । उपसभापतिमा पार्टी दुई धारमा रहँदा देउवा धारमा नै रहेका र कार्यवाहक सभापतिसमेत भइसकेका नेता गोपालमान श्रेष्ठलाई ल्याउन आफ्नै गुटभित्र दवाव छ । उनी आफूले सिनियर नेता भएकाले उपसभापति पाउनुपर्ने भन्दै लबिङ गरिरहेका छन् ।

नेता विजयकुमार गच्छदारलाई पनि के गरी व्यवस्थापन गर्ने भन्नेमा देउवाले ध्यान दिइरहेका छन् । उनका लागि विधान परिमार्जन गर्दा नयाँ पद सिर्जना गर्न सकिनेतर्फ पनि देउवाले सोच्दै आएको उनी निकट नेताहरू बताउँछन् ।

निर्वाचितबाहेकका एक महामन्त्री पदका लागि पूर्वसहमहामन्त्री पूर्णबहादुर खड्काको नाम देउवा निकटका अन्य सहयोगीहरूले बढी चर्चामा ल्याएका छन् ।तर, अघिल्लो सरकारमा अर्थमन्त्रीको हैसियतमा देउवालाई सघाएका नेता ज्ञानेन्द्रबहादु्र कार्कीको पनि महामन्त्रीका लागि उत्तिकै चर्चा छ । यसैगरी, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन परिचालन कमिटीको संयोजकको जिम्मेवारी पाएका नेता बालकृष्ण खाँडको पनि महामन्त्रीमा चर्चा छ ।

संसदीय दलको निर्वाचनका बखत मिलेर अघि बढौं भन्ने सन्देश लिएर वरिष्ठ नेताको दैलोमा देउवाद्वारा पठाइएका नेता रमेश लेखक पनि देउवाको रोजाइमा पर्न सक्ने सम्भावना अत्यधिक छ ।

दलको नेतामा देउवालाई ल्याउन लेखक सक्रिय भएर लागेका थिए । उनी नै दलको नेतामा उम्मेदवारी दिएका नेता प्रकाशमान सिंहलाई उपनेतामा व्यवस्थापन गर्ने र अन्य विषयमा समेत सहमति गरेर अघि बढ्ने देउवाको सन्देश लिएर पौडेल निवास पुगेका थिए ।