
काठमाडौं, २५ चैत । क्रिकेटको सबैभन्दा ठूलो लिग इन्डियन प्रिमियर लिग (आइपीएल)मा आजै डेब्यु गर्दैछन् पहिलो नेपाली खेलाडी सन्दिप लामिछाने ।
दिल्ली डेयरडेभिल्सका तर्फबाट अन्तिम ११ को छनौटसँगै आइपीएल प्रेमीहरू उनको चमत्कारिक प्रदर्शनको पर्खाइमा छन् । सन्दिपले अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका कारण दिल्लीका प्रशिक्षक रिकी पोन्टिङले उनलाई टिममा समावेश गरेका छन् ।
आइपीएलको यस वर्षको संस्करणमा दिल्लीको पनि यो डेब्यु खेल हो । शनिबार मात्रै मुम्बई इन्डियन र चेन्नई सुपरकिंग्सले खेलेका थिए ।
पोन्टिङले किंग्स पन्जाबविरूद्ध खेलमा सन्दिपलाई महत्वपूर्ण बलरका रूपमा उभ्याउने कोशिश गरेका छन् । आइपीएलसँगै विश्व क्रिकेटमा आफ्नो स्थानलाई बलियो बनाउने कि नबनाउने भन्ने सन्दिपको आजैको प्रदर्शनले देखाउने छ ।
सम्भवतः आइपीएलमा उनी नै सबैभन्दा कान्छा खेलाडी पनि हुन् । विश्व क्रिकेटमा खेलाडीको बरियता र खेलको मुल्यांकनका लागि आइपीएल महत्वपूर्ण मानिन्छ ।
त्यसैले अन्तर्राष्ट्रिय क्रिकेट कमिटिले पनि उनलाई ‘लेग ब्रेक बलर’को लिष्टमा राखेको छ । १७ बर्षिय सन्दिपले १६ अप्रिल २०१६ मा नामिबियाविरूद्धको खेलबाट नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय खेल सुरू गरेका थिए । अन्डर १९ क्रिकेट विश्वकपमा नेपालका तर्फबाट छानिएका सन्दिपले दोस्रो म्याचमा आयरल्यान्डविरूद्धको खेलमा ह्याट्रिक विकेट लिएपनि विश्व क्रिकेटको आँखामा परेका थिए ।
आइसीसी विश्व क्रिकेट लिग डिभिजनमा नेपालका तर्फबाट उनको प्रदर्शनका कारणले ‘प्लेयर अफ द टुर्नामेन्ट’ पाएका सन्दिपले ६ म्याचमा १७ विकेट लिएका थिए । सन्दिपको यहि चमत्कारका कारणले दिल्लीले मैदानमा उतारेको हो ।
प्रशिक्षक पोन्टिङले भने,‘उनका विकेट कसरी लिने भन्ने कला छ । राम्रो प्रदर्शन र सम्भावना छ । त्यसकारण उनलाई टिममा समावेश गरिएको हो ।’
दिल्लीले सन्दिपलाई २० लाख रूपियाँमा यस सिजनका लागि खरिद गरेको हो । दिल्लीमा भारतका चर्चित क्रिकेटर गौतम गम्भिरसहितका खेलाडी अहिले दिल्लीमा आवद्ध छन् ।
धेरै नेपालीहरूले सन्दिपले यस खेलमा चमत्कार देखाउनेमा आशावादी छन् । नेपाली क्रिकेट इतिहासमा सन्दिपको सफलता नेपालको गौरवसँग पनि जोडिएको छ ।















प्रतिक्रिया