हुम्ला, २४ चैत । हिमाली जिल्ला हुम्लामा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मूल नाराका साथ जिल्लाव्यापी विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति हुम्लाको आयोजनामा चैत्र २३ गते शुक्रवारबाट राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु भएको हो । प्रत्येक वर्ष जिल्लाका बिभिन्न स्थानमा रहेका विद्यालयमा संचालन गरिने प्रतियोगिताको यो वर्ष मानसरोवर नमूना माध्यामिक विद्यालय सिमकोटले व्यवस्थापकको जिम्मेवारी पाएको छ । शुक्रवारबाट शुरु भएको उद्घाटन समारोहमा विद्यालयका छात्रछात्राहरुले संस्कृतिक प्रस्तुति समेत प्रस्तुति गरेका थिए ।
प्रतियोगिता नियमित रुपमा प्रत्येक वर्ष संचालन हुने भए पनि यसको लोकप्रियता घट्दै गएका कारण जिल्लाका कुल सत्ताईस माध्यामिक विद्यालयमध्ये एघार विद्यालयले मात्र सहभागिता जनाएका छन् ।
प्रतियोगितामा सटफुट, ज्याभलिन थ्रो, हाईजम्प, ट्रिपलजम्प, लङ्गजम्प, भलिवल र दौडमा प्रतिस्प्रर्धा भई रहेको छ । माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी प्रतियोगितामा प्रतिस्प्रर्धा गरी रहेका छन् ।
जिल्लामा रहेका कुल २७ माध्यामिक विद्यालयमध्ये ११ विद्यालयले मात्र राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागिता जनाएकाले पनि हुम्लाको खेलकुुदको अवस्था नाजुक रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद बोहराले बताए ।
२०६९ सालबाट हुम्लामा शुरु गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता छैटौं संस्करणसम्म पुग्दा खेलमा विद्यालयको सहभागिता कम हुँदै गएको छ । जिल्ला सदरमुकाममा संचालन भई रहेको प्रतियोगितामा विद्ययालयको आन्तरिक स्रोतबाट खर्च व्यहोर्नु पर्ने भएकाले पनि सहभागिता घटेको आयोजक बताउँछन् ।
जिल्ला सदरमुकाम सिमकोटमारहेको निर्माणाधीन खेल मैदानमा पहिलो पटक प्रतियोगिता संचालन भै रहेको हुँदा खेलकुद व्यवस्थापनमा कठिनाई भएको छ । प्रतियोगिता चैत्र २८ गतेसम्म संचालन गरिने जिल्ला खेलकुद विकास समितिको अध्यक्ष विनोद बोहराले बताए ।
प्रतियोगिताको पहिलो दिन छात्र भलिवल, एक सय मिटर दौड छात्रछात्रा र ज्याभलिन थ्रो खेलमा प्रतिष्पर्धा भएको छ । प्रत्येक बर्ष जिल्लाका बिभिन्न स्थानमा फरक फरक बिद्यालयमा प्रतियोगिता संचालन हुदै आएको छ ।
गत वर्ष जिल्लाको मध्यभागमा रहेको हिमज्योति माद्यामिक विद्ययालय, सर्केगाडमा प्रतियोगिता संचालन भएको थियो ।
पानी परेर खेल मैदान हिलो भएका कारण दोस्रो दिनका खेलहरु प्रभावित भएका छन् । रातिदेखि लगातार पानी पर्दा खेल मैदान हिलो भएका कारण खेल शुरु हुन केही ढिलाई हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बोहराले बताए ।
















प्रतिक्रिया