पोखरा, ६ पुस । सहारा क्लब पोखराको आयोजनामा आगामी माघ २० देखि फागुन २ गतेसम्म पोखरा रङ्गशालामा अन्तर क्लब आमन्त्रित तेह्रौँ
आहा रारा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त प्रतियोगितामा नेपालका ‘ए’ श्रेणीका क्लब, विदेशी टोली, पूर्वाञ्चल र पश्चिमाञ्चलका क्लबहरु र आयोजक सहारा क्लब पोखरा गरी कुल १२ टोलीको सहभागिता रहने छ ।
प्रतियोगिताका विजेता र उपविजेतालाई नगद एवम् ट्रफी, उत्कृष्ट टिम कोच, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर, फेयर प्ले, सर्वाधिक गोलकर्ता, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र मेन अफ दि म्याचका खेलाडीलाई पनि पुरस्कृत गरिने छ ।
केही दिनपछि क्लबको बैठक बसी पुरस्कार राशिको घोषणा गरिने क्लबद्वारा आज आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिनुभयो । रासस













प्रतिक्रिया