२९ आश्विन २०८३, बिहिबार

सिरहामा व्यवसायीले पेट्रोल पम्पमा ‘पेट्रोल छैन’ लेखेर बिक्री बन्द गरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oilसिरहा, ६ पुस । पेट्रोलियम पदार्थको मूल्य घटेपछि सिरहा जिल्लामा पेट्रोलको अभाव सिर्जना भएको छ । सिरहाका व्यवसायीले आ–आफ्नो पेट्रोल पम्पमा ‘पेट्रोल छैन’ लेखेर बिक्री बन्द गरेका छन् । व्यवसायीहरु पेट्रोल लुकाएर ‘छैन’ भनिरहेका छन् ।

लहानस्थित बजरङ्ग तेल बिक्री केन्द्र, शारदा आयल स्टोर्स, पडरियास्थित फूलबारी आयल स्टोर्स, छपराडीस्थित उग्रचण्डी तेल बिक्री केन्द्रलगायतका सिरहाका सबै पेट्रोल पम्प बन्द छन् । पेट्रोल नपाउँदा जनता मर्कामा परेका छन् । मोटरसाइकल चलाउनेहरु बढी समस्यामा परेका छन् ।

लहानमा बस्दै आएका हकपाडा गाविसका दिलीप दासले पेट्रोल नपाएर समस्यामा परेको बताउनुभयो । पेट्रोल कुनै पनि पम्पले नदिएपछि घरसमेत जान नपाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घर जाँदै थिएँ । लहानमा पेट्रोल नपाएपछि बाटोमा भेटिहाल्छ भनेर निस्केँ । करिब पाँच किलोमिटर नजाँदै मोटरसाइकलमा तेल सकियो । गुडाएर छपराडी लगेँ । त्यहाँ पनि नभेटेपछि गाडी नचिनेकै घरमा राखेर लहान फर्केको छु ।”

“लहानदेखि छपराडीसम्म राजमार्गमै पर्ने पाँचवटा पेट्रोल पम्पमा गएँ तर कसैले पेट्रोल दिएनन्”, दासले भन्नुभयो, “सरकारले मूल्य बढाउँदा अभाव हुँदैन । मूल्य घटाएपछि कसरी सबै पेट्रोल पम्पमा एकैपटक तेल सकियो ?” व्यवसायीले जानीजानी पेट्रोलको अभाव सिर्जना गरेर कालोबजारी गर्न खोजेको उहाँको आरोप छ ।

नेपाल आयल निगमले शुक्रबार साँझ पेट्रोलमा रु सात र डिजेलमा सात रुपैयाँ ५० पैसा घटाएको छ । मूल्य घटेपछि पेट्रोल रु ११६ र डिजेल ९० रुपैयाँ ५० पैसामा बिक्री गर्नुपर्ने हो । तर मूल्य घटेपछि व्यवसायीले पेट्रोल र डिजेलको अभाव सिर्जना गरेर कालोबजारी गर्न खोजेका छन् ।

यता सिरहाका प्रमुख जिल्ला अधिकारी मो अब्दुल कलाम खाँले पेट्रोलपम्प बन्द रहेको कुरा आफूलाई थाहा नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “पेट्रोल छ भने बेच्नुपर्ने हुन्छ । खै के हो म बुझ्न लगाउँछु ।” रासस