३ कार्तिक २०८३, मंगलबार

यौन दुराचारमा परेका नेपाली बालबालिकाको डरलाग्दो तथ्याङ्क

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । एउटा अध्ययनले चार महिनाको अबधिमा ७८ जना बालबालिका यौन शोषणको शिकार भएको उल्लेख गरेको छ ।
मंसिरदेखि फागुनसम्मको अध्ययनले यस्तो देखाएको हो ।

महिनाको आधारमा सबैभन्दा बढी ३१ जना बालबालिका फागुनमा पीडित भएका छन् । सबैभन्दा कम मंसिरमा १० जना यौन दुराचारको शिकार भएका छन् । पुसमा १४ र माघमा २३ बालबालिका यौन दुराचारको शिकार भए ।

यस अवधिमा ४ जना बालक बालयौन दुव्र्यवहारमा परेका छन् भने ७४ जना बालिका बलात्कारबाट पीडित भएका छन् । बालयौन दुव्र्यवहारमा परेका बालकहरूमध्ये काठमाडौंस्थित एक होटलमा विगत लामो समयदेखि ३ जना सडक बालकलाई खान र पैसाको प्रलोभनमा पारी ६३ वर्षीय जर्मन नागरिकबाट यौन दुराचार भएको थियो । एक जना बालक महोत्तरीमा गाउँकै युवाबाट पीडित हुँदै आइरहेको तर गाउँलेको मिलेमतोमा घटनालाई ढाकछोप गर्न खोजिएको थियो । प्रहरीको सक्रियतामा घटना सार्वजनिक भयो ।

बालिका बलात्कार भएका घटनामध्ये ८ प्रतिशत (६जना) बालिका सामूहिक बलात्कारमा परेका छन् । घटनालाई हेर्दा सामूहिक बलात्कारमा परेकी बालिका ३ जना म्यादी प्रहरीबाट समेत बलात्कृत भएको देखिन्छन् । बलात्कारका घटनाहरूलाई विश्लेषण गर्दासबैभन्दा बढी चिनजानको व्यक्तिबाट ४१ प्रतिशत (३० जना) बालिका बलात्कार भएका छन् । त्यसैगरी छिमेकीबाट २७ प्रतिशत (२० जना), आफ्नै बुबा तथा हाडनाताबाट १५ प्रतिशत (११ जना), फेसबुक तथा सामाजिक सञ्जाल मार्फत भएको चिनचानबाट ९ प्रतिशत (७ जना), शिक्षकबाट ४ प्रतिशत (३ जना) र म्यादी प्रहरी र सेनाबाट ४ प्रतिशत (३ जना) बालिका बलात्कार भएका छन् ।

बलात्कारमा संलग्न अभियुक्तमध्ये १७ प्रतिशत (१६ जना) बालकहरू नै भएको देखिन्छ भने बाँकी ८३ प्रतिशत (७६ जना) बयस्कबाट बालबालिका पीडित भएका छन् । ६ जना बालिकाको बलात्कार पछि हत्या गरिएकोमा २ जना बालिकाको हत्यामा भने २ जना बालकहरू नै संलग्न भएको देखिन्छ ।

बलात्कारबाट पीडित भएका बालिकाको उमेर समूहका आधारमा विश्लेषण गर्दा १० वर्ष वा सोभन्दा मुनीका ३१ प्रतिशत (२३ जना), ११ देखि १५ वर्षका ६२ प्रतिशत (४६ जना) र १६ देखि १८ वर्षका ७ प्रतिशत (५ जना) बालिका रहेका छन् । सबैभन्दा सानो सप्तरीकी २ वर्षको बालिका बलात्कृत भएको पाइन्छ भने १४ वर्ष उमेरका बालिकाहरू धेरै संख्यामा बलात्कारको शिकार भएको देखिन्छ ।
यस्ता घटना ३३ जिल्लामा भएका थिए ।

काठमाडौंमा ८ जना, उदयपुर, बैतडी र महोत्तरीमा १५, काभ्रे, भक्तपुर र ललितपुरमा १२ जना बालबालिका पीडित बनाइए । यसैगरी बाँके, झापा, सुनसरी, रूपन्देही, सप्तरी र कञ्चनपुरमा १८ जना बालबालिका यौनजन्य हिंसाको शिकार भएका छन् ।

२०७४/०७५ को प्रथम चार महिनाको अवधि (साउनदेखि कात्तिक) मा ४५ जना बालबालिका बालयौन दुव्र्यवहारबाट पीडित भएका थिए । यस अवधि (मंसिरदेखि फागुन) मा ७८ जना बालबालिका प्रभावित भएका घटना प्रकाशमा आएका छन् । यसबाट बालबालिकाविरूद्ध हुने गरेको घटनाहरूको संख्यामा बृद्धि हुँदै गइरहेकोे पाइन्छ ।

चार महिनाको अवधिमा विभिन्न कारणले गर्दा ७८ जना बालबालिकाको मृत्यु भएको घटना प्रकाशमा आएका छन् । महिनाको आधारमा हेर्दा सबैभन्दा बढी पुस महिनामा २७ जना बालबालिकाको मृत्यु भएको देखिन्छ ।साथै अन्य महिनाहरूमा माघ, फागुन र मंसिरमा क्रमशः २३ जना, २३ जना र ५ जना बालबालिकाको मृत्यु भएको छ ।

उक्त मृत्युका घटनालाई विश्लेषण गर्दा ८ प्रतिशत (६ जना) बालिकाको बलात्कार पछि हत्या गरिएको छ भने १३ प्रतिशत (१० जना) नवजात शिशुको हत्या गरिनुका साथै विभिन्न कारणले पानीमा डुबेर/सडक दुर्घटनामा परेर ७९ प्रतिशत (६२ जना) बालबालिकाको मृत्यु भएको पाइन्छ । मृत्यु भएका बालबालिकामध्ये १० जनाको शिशुहत्या गरिएको कारण खोतल्दा बुबा बैदेशिक रोजगारीको सिलसिलामा बाहिरिएको र आमाले अवैध सम्बन्धबाट जन्मेको शिशुलाई हत्या गरेको पाइएको छ । प्रायः यस्ता घटनाहरू ग्रामीण क्षेत्रको महिलाबाट भएको देखिन्छ । यसैगरी २०७४/०७५ को प्रथम चार महिनाको अवधि (साउनदेखि कात्तिक) मा ९० जना बालबालिकाको हत्या तथा मृत्यु भएकोमा यस अवधि (मंसिरदेखि फागुन) मा ७८ जना बालबालिका प्रभावित भएका घटना प्रकाशमा आएका छन् ।

यसैबीच, सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटनाक्रममा केही परिवर्तन आएको देखिन्छ । नेपाल सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सो सम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याएको छ । विभिन्न प्रयासहरू हुँदाहुँदै पनि बालविवाहका घटनाहरूमा कमी आएको देखिँदैन ।

यस चार महिनाको अवधिमा विभिन्न १४ वटा जिल्लाहरूमा ४० वटा बालविवाह भएका घटनाहरू प्रकाशमा आएका छन् । प्रकाशमा नआएका बालविवाहका घटनाहरू थुप्रै हुनसक्ने अनुमान गर्न सकिन्छ ।

बालविवाहका घटनाहरूको वर्गीकरण गर्दा बालक र बालिका दुबैले उमेर नपुग्दै विवाह गरेको घटना सबैभन्दा बढी पाइएको छ । जस अन्तर्गत ५० प्रतिशत विवाह (२० घटना) बालबालिकाबीच भएको देखिन्छ । त्यसैगरी बालिका र वयस्क पुरूषबीच ४५ प्रतिशत (१८ घटना) विवाह भएको छ भने ५ प्रतिशत (२ घटना) अनमेल (वृद्धसंग) विवाह भएको छ । बालविवाहका ३२ घटनामध्ये अभिभावकद्वारा ३५ प्रतिशत (१४ घटना) र भागी विवाह ६५ प्रतिशत (२६ घटना) भएको छ । भागी विवाहका घटनालाई हेर्दा सामाजिक सञ्जाल र फेसबुक मार्फत उमेर नपुग्दै विवाह हुने गरेका घटनाहरू प्रकाशमा आउने गरेका छन् ।

नेपाल प्रहरी, महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार  २०७३/०७४ मा बालविवाह घटनासम्बन्धी २६ वटा उजुरीहरू परेको देखिन्छ । तर उक्त अवधिमा सञ्चार माध्यममा भने ६६ वटा घटनाहरू प्रकाशमा आएका थिए । यसबाट कानूनी कारवाहीमा निकै कम मात्रै बालविवाहका घटना पर्ने गरेको देखिन्छ ।  २०७४/०७५ को प्रथम चार महिनाको अवधि (साउनदेखि कार्तिक) मा ३२ बालविवाह भएकोमा यस अवधि (मंसिरदेखि फागुन) मा ४० बालविवाह भएका घटना प्रकाशमा आएका छन् । यसबाट बालविवाहको घटनामा बृद्धि हुँदै गइरहेकोे पाइन्छ ।