१ कार्तिक २०८३, आइतबार

नुवाकोटमा एक अर्ब ११ करोडको आलु उत्पादन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, २१ चैत । नुवाकोटमा यस वर्ष रु एक अर्ब ११ करोड मूल्य बराबरको आलु उत्पादन भएको छ । बर्खे र हिउँदे दुई याममा उत्पादित ७४ हजार २०४ मेट्रिक टन आलु बिक्री गरेर जिल्लाका किसानले उक्त रकम आर्जन गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा कमलराज गैरेले जानकारी दिए ।

‘अघिल्लो वर्षको भन्दा आलु लगाउने क्षेत्रफल र उत्पादन दुवैमा वृद्धि भएको छ’, वरिष्ठ कृषि विकास अधिकृत गैरेले भने, ‘किसानले व्यावसायिक रुपमा शुरु गरेको खेती प्रणाली सही रुपमा अवलम्बन हुँदा आलुमार्फत जिल्लामा ठूलो रकम भित्र्याउन सफल भएका छौँ ।’

आलुको उत्पादनमा वृद्धि र मूल्यसमेत राम्रो पाएपछि आलु खेती गर्दै आएका किसानसमेत उत्साहित बनेका छन् । स्थानीय बजारमा अहिले आलु रु १५ भन्दा माथि कारोबार हुँदा किसानले प्रतिकिलोग्राम रु पाँचसम्म नाफा गर्न सकेका छन् ।

नगदे बालीका रुपमा आलु लगाएर राम्रो उत्पादन गर्दै आएका किसानले शीत भण्डारण (कोल्ड स्टोरेज)को अभावमा हकदाबी मूल्य पाउन नसकेको गुनासो गरेका छन् । कृषि विकास कार्यालयको अनुसार आलु उत्पादन तथा बिक्री र कारोबारको तथ्याँकमा घरेलु प्रयोजनका लागि लगाउने नभई व्यावसायिक रुपमा खेती गर्ने किसानको उत्पादन मात्र समावेश गरिएको छ ।

दुई याममा गरी व्यावसायिक रुपमा चार हजार २४८ हेक्टर क्षेत्रफलमा आलु लगाइएको छ । प्रतिहेक्टर १७ दशमलव ४७ मेट्रिक टन उत्पादन भई जिल्लाभर कूल ७४ हजार २०४ मेट्रिक ट्रन आलु उत्पादन भएको कृषि विकास कार्यालयको तथ्याँक छ ।

मलखादको सहज आपूर्ति र सुहाउँदो हावापानीले पनि उत्पादनमा वृद्धि भएको हो । गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आलुको जोन कार्यालय सञ्चालनमा आएसँगै आलुखेती गर्ने किसानको सङ्ख्यामा वृद्धि र लगाउने क्षेत्रफलसमेत बढ्न थालेको छ । नुवाकोटको सबै स्थानमा आलुखेतीका लागि उपयुक्त हावापानी छ । – रासस