
काठमाडौँ, २० चैत । नविल बैँकले एकैदिन देशका तीन स्थानमा शाखा स्थापना गरेको छ । मंगलबार कर्णाली प्रदेशको अस्थायी राजधानी सुर्खेत, कैलालीको टिकापुर र दाङको लमहीमा शाखा संचालनमा ल्याएको हो ।
सुर्खेतको वीरेन्द्रनगरमा स्थापित शाखाको प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र बैंक संचालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले शाखाको संयुक्तरुपमा उद्घाटन गरे ।
बैंकको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले बैंकको आगमनसंगै कर्णाली प्रदेशमा वित्तीय कारोबार बढ्ने अपेक्षा गरेको बताए । उनले बैंकले दिने सेवा सुविधाबाट प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुग्ने भन्दै बैंकलाई साझेदार संस्थाको रुपमा लिने उल्लेख गरे ।

बैंक संचालन समितिका अध्यक्ष शम्भुप्रसाद पौड्यालले समाजमा छरिएर रहेका समुदायलाई बैंकिङ आवश्यकता पूरा गर्नु बैंकको उद्देश्य रहेको बताए । उनले उद्यमशीलता, रोजगारी सिर्जनामा पनि टेवा पुर्याउने उल्लेख गरे ।
बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले समाजका विभिन्न तहलाई बढीभन्दा बढी सेवा उपलव्ध गराउन मुलुकभर शाखा स्थापना गरेको बताए । उनले कर्णाली प्रदेशमा थप ५ वटा शाखा स्थापना गर्ने लक्ष्य रहेको जनाए ।

बैंकले हाल ६२ वटा शाखा, १०९ वटा एटिएम र १५ सय बढी नबिल रेमिट एजेन्ट मार्फत सेवा दिइरहेको उनले बताए ।















प्रतिक्रिया