१ कार्तिक २०८३, आइतबार

‘श्वेतपत्र अर्थतन्त्रको यथार्थ तस्वीर’

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० चैत । अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दलविशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ तस्वीर रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखसँग समय लिएर डा खतिवडाले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा गरेका लगानीले प्रतिफल दिन थालेको र स्थिरता हुँदै समृद्धिको यात्रा अघि बढेको पनि श्वेतपत्रमा उल्लेख भएकाले समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रबारे आफूले सदनलाई श्वेतपत्रमार्फत जानकारी गराएको बताउनुभयो ।

उहाँले राज्यको सम्पत्ति कुनै व्यक्तिको हातमा नजाओस् भन्नेमा सरकार सचेत छ भन्दै यसको अर्थ निजीकरणलाई रोक्न वा बन्द अर्थतन्त्र ल्याउन खोजिएको भन्ने नबुझ्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “निरपेक्ष उदारीकरणले हामीलाई सीमान्तकृतमा पनि पार्न सक्छ भन्ने विश्व अर्थतन्त्रले देखाइसकेको छ, हामी विश्वव्यापी खुला अर्थतन्त्रलाई राष्ट्रिय हितमा प्रयोग गरेर अघि बढ्ने सोचमा छौँ ।”

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायतका सांसदले मुलुकको अर्थतन्त्र रित्तो अवस्थामा नभए पनि अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्र अतिरञ्जनापूर्ण रहेको टिप्पणी गर्नुभएको थियो । –रासस