काठमाडौं, २० चैत । चैतको २३ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अनुपस्थित हुने भएका छन् ।
चैत २२ र २३ गते अजरबैजानको राजधानी बाकुमा हुने असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनको तयारी गर्न परराष्ट्र मन्त्रिस्तरीय बैठकमा भाग लिन ज्ञवाली त्यसतर्फ प्रस्थान गर्ने भएपछि प्रधानमन्त्रीको भ्रमणमा उनी अनुपस्थित हुन लागेका हुन् ।
प्रधानमन्त्री ओलीको यो भ्रमणलाई भारतीय पक्षले विशेष महत्व दिएको छ । सामान्यतया प्रधानमन्त्री तथा राष्ट्रपति विदेश भ्रमणमा जाँदा परराष्ट्र मन्त्री साथमा हुने प्रचलन छ । यस पटक यो परम्परा तोडिने भएको हो ।
प्रधानमन्त्री ओली राजकीय भ्रमणमा भारततर्फ उड्नु एक दिनअघि नै परराष्ट्रमन्त्री ज्ञवाली अजरबैजानतर्फ प्रस्थान गर्नेछन् । नेपालको तर्फबाट ज्ञवाली सम्मेलनमा भाग लिने तय भइसकेको छ ।
नेपाल असंलग्न राष्ट्रहरूको संस्थाको संस्थापक सदस्य राष्ट्र हो । त्यसैले पनि सो संस्थामा नेपालको सहभागिता विगतदेखि नै निकै महत्वपूर्ण हुँदै आएको छ ।
परराष्ट्रमन्त्री ज्ञवालीले नचाहेर प्रधानमन्त्रीको भारत भ्रमणमा अनुपस्थित हुन लागको भने होइनन् । भारतले अप्ठेरो मितिमा भ्रमणको प्रस्ताव गरेका कारण कार्यक्रम जुध्न पुगेको स्रोतले जनाएको छ ।
परराष्ट्रमन्त्री अजरबैजानबाट फर्कने क्रममा भारत भ्रमणको टोलीसँग बीचमा मिसिन सक्ने बताइएको छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणको तयारी समेत गर्नुपर्ने भएकाले परराष्ट्रमन्त्री ज्ञवाली अजरबैजानबाट सिधैं काठमाडौं फर्कन सक्ने स्रोतको दाबी छ ।
यस पटकको भारत भ्रमणमा ठूलो महत्वपूर्ण सम्झौतामा हस्ताक्षर नहुने हुँदा परराष्ट्र मन्त्रीको भूमिका अनिवार्य नभएको बताइन्छ ।
मन्त्रिस्तरीय सम्मेलन अगाडि चैत २० र २१ गते उच्चअधिकारीहरूको बैठक बस्नेछ । सम्मेलनमा यसअघिका शिखर सम्मेलनको समीक्षा गर्दै आगामी शिखर सम्मेलनको तयारी गर्ने जनाइएको छ ।















प्रतिक्रिया