लण्डन, १९ चैत । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनल विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा आर्सनलले स्टोक सिटीलाई ३–० ले हराएको हो ।
रेलिगेशन जोनमा रहेको स्टोकसँग खेलको ७५ मिनेटसम्म आर्सनल गोलरहित बराबरीमा रोकिएको थियो । अन्तिमको १५ मिनेटमा उसले तीन गोल गरेर नतिजा आफ्नो पक्षमा पारेको हो । आर्सनलले दुईपटक पेनाल्टी पायो ।
७५ औँ मिनेटमा पाएको पहिलो पेनाल्टीमा पिएर एमरिकले गोल गर्दै सुरुवाति अग्रता दिलाए । उनैले ८६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
आर्सनलले ८९ औँ मिनेटमा फेरि पेनाल्टी पायो । यसपटक एलेक्जाण्ड्र लाकाजेटले गोल गर्दै टिमलाई ३–० को जित दिलाए ।
जितपछि आर्सेन वेङ्गरको टिम आर्सनल ३१ खेलबाट ५१ अंकसहित छैटौँ स्थानमा छ । पुछारबाट दोस्रो स्थानमा रहेको स्टोक सिटीको ३२ खेलबाट २७ अंक भएको छ । – एजेन्सी















प्रतिक्रिया