काठमाडौँ, १८ चैत । उपचारका क्रममा निधन हुनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आइतबार अन्तिम संस्कार गरिँदैछ ।
उहाँको पार्थिव शरीरलाई आइतबार दिउँसो १ बजे श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि आइतबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
नेता खड्काको उपचारका क्रममा शुक्रबार साँझ भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट पीडित हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीरलाई शनिबार राति नेपाल ल्याई ललितपुर, सानेपास्थित उहाँकै निवासमा राखिएको छ ।
बेलायतमा उच्च शिक्षा अध्ययनरत नेता खड्काका सुपुत्र अनुराग खड्का आइतबार नेपाल आएपछि धार्मिक विधि र परम्परागत प्रक्रिया पूरा गरेर मात्रै उहाँको पार्थिव शरीरलाई दिउँसो पार्टी कार्यालयमा राखिने बताइएको छ । यही चैत ९ गतेदेखि निर्वाचन समीक्षा गर्न जारी काँग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बिहान ११ बजे बस्ने भनिएको सातौँ दिनको बैठक स्व खड्काप्रति सम्मान प्रकट गर्दै अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । –रासस















प्रतिक्रिया