भैरहवा, १८ चैत । सुरक्षा जाँचका नाममा भारतीय पक्षले कडाइ गर्दा बेलहिया–सुनौलीमा आयात तथा निर्यात प्रभावित बन्दै गएको छ ।
भारतीय क्षेत्रमा सुरक्षाका नाममा कडाइ गरिएपछि अहिले नेपालतर्फ प्रवेश गर्ने मालवाहक ट्रकको लाम २५ किलोमिटरसम्म हुने गरेको छ । प्रधानमन्त्री केपी ओलीले चैतको २३ गतेदेखि भारत भ्रमण गर्ने तयारी गरिरहेका बेला भारतीय पक्षले सिमानामा विभिन्न बहाना बनाएर अवरोध गरिरहेको हो ।
दुईपक्षीय वार्तामा सीमाक्षेत्रमा आयात निर्यात सहज बनाउने भनिए पनि भारतीय पक्षको हेपाहा प्रवृत्तिले आयात–निर्यात प्रभावित बन्दै गएको हो ।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमै सिमानाकामा अनावश्यक कडाइ भएपछि धेरै मालवाहक ट्रक भारततर्फ रोकिन बाध्य भए भने नेपालबाट भारततर्फ जाने खाली ट्रकसमेत नेपालमै रोकिएपछि नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी, भारतका लागि नेपालका तत्कालीन राजदूत दीपकुमार उपाध्याय, नेपाली तथा भारतीय सुरक्षा निकायका प्रतिनिधिहरूको छलफलपछि आयात निर्यात सहज बनाउने सहमति भएको थियो । तर, भारतीय पक्षले बारम्बार सुरक्षा कारण देखाउँदै नेपालबाट भारतर्फ जाने र भारतबाट नेपाल आउने मालवाहक सवारी साधनमा कडाइ गरिरहेको छ ।
आयात प्रभावित भएपछि भैरहवा भन्सार कार्यालयले भन्सार विभागले तोकेको लक्ष्यअनुसारको राजस्व संकलन गर्न पनि सकेको छैन ।
सुरक्षामा कडाइसँगै पैसा लिएर ट्रकहरू छाड्ने र पैसा दिन नसक्नेलाई पछाडि पठाउने गरेको व्यवसायीहरूले बताएका छन् ।
भैरहवाका एक व्यवसायीले १० हजार रुपैयाँ प्रतिट्रकका दरले भारतीय प्रहरीलाई रकम बुझाएपछि आफ्नो ट्रक सजिलै पास भएको बताए । सुनौली र नौतनवा क्षेत्रमा भारतीय पुलिसले असुली गरिरहेको व्यवसायीहरू बताउँछन् ।
पैसा नदिए धेरै दिनसम्म गाडीहरू लाइनमा बस्नुपर्ने र पैसा दिए पालो मिचेर अगाडि जान दिने गरेको नेपाल भन्सार एजेन्ट संघ रूपन्देहीका निवर्तमान अध्यक्ष एवं सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्य कृष्णप्रसाद घिमिरेले बताए ।















प्रतिक्रिया