
काठमाडौं, १७ चैत । बिराटनगरको ‘मिल्स एरिया’मा कष्टले हुर्किए, शिवु शाह । बुवा सानैमा बितेको तथ्य आमाबाट थाहा पाए । चार दिदीबहिनी पछिका दुई दाजुभाई मध्येका शिवु जेठा हुन् । ६ सन्तानलाई आमाले दुखले हुर्काएको उनले महशुस गरेका थिए । केही गर्नुपर्छ भन्ने अठोट लिएकैले जीवनसँग कुनै गुनासो छैन ।
विपन्न परिवारको एक अंश शिवुले व्यापारी, व्यावसायी हुने लक्ष्य राखेनन् । त्यो उनको तत्कालिन आर्थिक हैसियतले दिँदैन थियो । त्यसकारण नृत्यमा चासो दिए । गर्जो टार्ने आमाको समस्यामा साथ दिन विराटनगरमा एकाध ठाउँमा नाचेर कमाएको केही रकमले काम गरेको थियो । उनी भन्छन्,‘अहिले अवस्था फरक छ । त्यहि नृत्य देश विदेशमा देखाउने अवसर पाएर केही आम्दानी भयो । घर पनि चलेको छ, जीवन पनि चलेको छ ।’
विगतका घरेलु संघर्ष सम्झँदा उनी भावुक हुन्छन् । तर त्यो भन्दा पनि कठोर संघर्ष गरेर उनले यो मुकाम तय गरेका हुन् । अध्ययन, काम र नृत्य तीनै चिज एकै साथ समय मिलाउन कठिन हुने गरेको थियो । ९ वर्षअघि काठमाडौं छिरेका उनको संघर्षको मैदान फराकिलो थिएन । ‘साइकल चढेर काम सबैतिर भ्याउने गर्थें । नाच्ने गर्थें । एकाध हजार सय मिल्थ्यो त्यसैले काठमाडौंको खर्च चल्थ्यो’, उनी भन्छन् । कोरसमा नृत्य गर्ने समूहमा थिए उनी । बिराटनगरकै सूरज प्रधानले उनलाई काठमाडौं बोलाएका थिए । जात्रा, महोत्सव र मेलामा सहायक स्थानमा रहेर नाच्ने उनी मौकाको पर्खाइमा थिए । कहिलेकाहीँ काठमाडौंका क्यासिनोमा पनि नृत्य गर्न छिर्थे ।
शिवु जिम्न्यास्टिक पनि गर्छन् । एक हिसाबले भारतीय अभिनेता टाइगर श्रफ जस्तै । तर, यस्तो कलालाई नेपालमा अहिलेसम्म बुझ्न सक्ने निकाय छैन । उनले आशा मारेका छैनन् ।
महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले ‘नृत्यकारहरू भगवानका खेलाडी हुन्’ भनेजस्तो उनमा पनि त्यो क्षमता देखियो । र, भगवानले नै उनलाई त्यहि नृत्यले अधिक आम्दानी हुने बाटो पहिल्याइदिए । विदेशी मात्र छिर्न पाउने क्यासिनोमा मिहेनतसाथ नृत्य देखाएका शिवु संयुक्त राज्य अरबका , साहिल शेखको नजरमा परे । भन्छन्,‘त्यसबेला नै मेरो भाग्योदयको यात्रा तय भयो । र, यहाँको क्यासिनोमा खेल्न आउनेले नृत्य हेर्नका लागि दुबईसम्म बोलाए ।’
उनले दुबईमा आफुले सिकेका सबै सीपलाई नृत्यमा प्रयोग गरे जसका कारण उनको माग झन बढ्यो, पारिश्रमिकसँगै करोडपति ग्राहकले दिने टिप्स पनि बढ्यो । ‘त्यहाँ करोडपतिहरूले दिने टिप्स एकातिर छ । अर्कातिर पारिश्रमिक पनि राम्रो थियो । त्यसकारण मेरो जीवनका आर्थिक पाटो केही सुधार हुन थाल्यो ।’

अहिले पनि आफ्नो पेशालाई उनले निरन्तरता दिएका छन् । उनमा धेरथोर आम्दानी हुन्छ भन्ने घमण्ड र कुन्ठा छैन । ‘नेपालमा निक्कै कम भएपनि यो मेरो सीप भएकाले कसैलाई नाई भन्ने गरेको छैन’, उनी भन्छन्,‘पैसा कमाउनका लागि त अहिले पनि विभिन्न देशमा नाच्ने अवसर मात्रै छ ।’
शिवु जिम्न्यास्टिक पनि गर्छन् । एक हिसाबले भारतीय अभिनेता टाइगर श्रफ जस्तै । तर, यस्तो कलालाई नेपालमा अहिलेसम्म बुझ्न सक्ने निकाय छैन । उनले आशा मारेका छैनन् । जसरी नृत्यले जीवन चलाउने गतिमा तिव्रता दियो जिम्न्यास्टिकले पनि एउटा कालखण्डमा गति लिनेमा विश्वस्त छन् । त्यसैले भन्छन्,‘जुनसुकै काम गर्दा पनि आशावादी भए त्यसको प्रतिफल समयले दिनेछ । जसरी नाचेर पैसा हुँदैन भन्ने त्यसबेलाको कथन गलत साबित भयो, नाचेर पनि पैसा हुने रहेछ । यहाँ नभए कहिँ त पक्कै हुन्छ ।’
उनको नृत्य र जिम्न्यास्टिक कलाकै कारणले रङमञ्चतिर पनि माग हुन थालेको छ । केही दिनमा एउटा फिल्मको मुख्य अभिनयका लागि उनी छायांकनस्थल जाने तयारीमा छन् । केही म्युजिक भिडियो पनि गरेका छन् । ‘मलाई हिरो बन्ने रहरले पनि नाच्ने र ज्यान बनाउनेसँगै संघर्षले सफलता दिन्छ भन्ने आत्मविश्वास पहिलेदेखि नै थियो ।’, उनी भन्छन्,‘त्यसैले करिब–करिब म आत्मविश्वासको नजिक छु ।’
उनको स्कुल भने पनि नृत्य, कलेज भने पनि नृत्य नै भएको छ । नेपालीसँगै माइकल ज्याक्सनका हरेक स्टेप गर्न पोख्त छन् । उनका कामले अहिलेसम्म कसैलाई रुष्ट पारेको छैन । नृत्य गर्नु नै मानिसलाई खुशी पार्ने काम भएकाले सन्तुष्ट छन् । त्यसैले होला भोल्तेयरले पनि भनेका छन्– शिक्षा र नृत्यले विश्वमा कहिले पनि क्षति गर्दैन ।















प्रतिक्रिया