
काठमाडौँ, १६ चैत । स्थापनाको ३६ औँ वर्षको अवसर पारेर काठमाडौँको कालिकास्थानमा अवस्थित सर्वनाम थिएटरमा कलायनको दोस्रो श्रृंखला शुरु भएको छ । कलायानको शुक्रबार सकारात्मक सोचका अभियानकर्ता कर्ण शाक्यले उद्घाटन गरे ।
कलायानको उद्घाटन गर्दै शाक्यले कलाले मानिसको जीवनमा सकारात्क सोचको विकास गर्न सहयोग पुग्ने बताए । कलामा जीवन हुने भन्दै उनले मानिसले आफ्नो जीवनको नकारात्कताबाटै सकारात्मक कुरा निकाल्न सकिने बताए । प्रदर्शनीमा राखिएकाले क्यानभासहरुले जीवन, पीडा, संघर्ष, शान्ति लगायतका कुरा बोलेको उनले बताए ।
यसअघि २०७३ जेठ ११ गतेदेखि शुरु भएको कलायानको पहिलो श्रृंखला बिहीबार (१५ चैत, २०७४) सम्म चलेको थियो । कार्यक्रममा २२ महिनासम्म सर्वनामको आर्ट ग्यालरीमा आफ्नो पेन्टिङ प्रदर्शनीमा राख्ने रमेश खनाल र नरेन्द्रबहादुर श्रेष्ठलाई आदरपत्र प्रदान गरिएको थियो ।
कलायानको दोस्रो श्रृंखलामा १० जना कलाकारका १९ चित्र प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा कलाकार प्रमिला परियार, रमेश श्रेष्ठ, ज्योती प्रकाश बिके, नरबहादुर बिके, नरेन्द्रबहादुर श्रेष्ठ, रमेश खनाल, कृष्ण मानन्धर, पुनम कुमारी दास, श्यामसुन्दर यादव र दयाराम पाल्पालीका विभिन्न चित्र छन् । कलायानको दोस्रो श्रृंखला एक महिनासम्म चल्ने कलाकार एवं कला समीक्षक रमेश खनालले जानकारी दिए ।
नेपाली कलाका सर्जक र सिर्जनालाई व्यापक रुपमा लोकप्रिय बनाउन तथा अन्तर्राष्ट्रिय स्तरमा पनि फैलाउनका लागि कलायान यात्राको थालनी गरिएको सर्वनामका संस्थापक एवं संरक्षक अशेष मल्लले बताए । ‘कलायान केवल प्रदर्शनी मात्र होइन, सर्जकको संवेदनालाई दर्शकसम्म सञ्चालित गर्ने एउटा जीवन अभियान पनि हो’, मल्लले भने ।
कार्यक्रममा कवि असिम सागरले सडकको आभाष र चक्र गरि दुई वटा कविता सुनाएका थिए । कवितामार्फत उनले इमान्दार बन्नुपर्ने, सकारात्क सोच्नुपर्ने र त्यसको परिणाम पनि सकारात्क नै आउने सन्देश प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कलायानका संयोजनकर्ता प्राध्यापक डाक्टर सावित्री कक्षपतीले एउटै घरभित्र कलाका विभिन्न स्वाद चाख्न पाइने बताइन् । नाकट, पेन्टिङ र साहित्यको स्वाद लिने थलोका रुपमा सर्वनामको विकास गरिदै आएको कक्षपतीले बताइन् ।
२२ महिनासम्म निरन्तर कला प्रदर्शनीमा राखिएको नेपालकै पहिलो पटक भएको दाबी गर्दै उनले पहिलो श्रृंखलामा सहभागी कलाकारहरुको नाम सबै कलाप्रेमीको मनामा स्वर्ण अक्षरले लेखिएको बताइन् । मिथिला आर्टदेखि आधुनिक कला समेटिएका विभिन्न चित्र प्रदर्शनीमा राखिएको कलायनको दोस्रो श्रृंखला पनि सर्वनाम प्रवेश गर्ने सबैको मनमा सजिने प्रा. डा. कक्षपतीले विश्वास लिइन् ।
आउँदो आइतबार (१८ गतेदेखि) सर्वनाम थिएटर ३६ वर्षमा प्रवेश गर्दैछ । सर्वनामले ३६ औँ वार्षिक उत्सबको अवसरमा आउँदो सोमबारदेखि अन्तर्राष्ट्रिय एकल नाटक महोत्सबको आयोजना गरेको छ । जहाँ नेपाल लगायतका विश्वका सात वटा देशका कलाकारले एकल नाटक प्रस्तुत गर्नेछन् ।















प्रतिक्रिया