
काठमाडौँ, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका सदस्यहरुलाई दलगत स्वर्थभन्दा माथि उठेर काम गर्न आह्वान गरेकी छन् ।
बिहीबार संघीय संसदका दुवै सदनलाई संयुक्त रूपमा सम्बोधन गर्दै उनले अब दलगत स्वार्थ त्यागेर जनताको आशा र भरोसाअनुसार काम गर्न दुवै सदनका सांसदलाई निर्देशन दिइन् ।
राष्ट्रपति भण्डारीले जनता र देशको सर्वोपरि हितमा केन्द्रीत हुन सांसदहरुलाई आहृवान गरेकी हुन् । उनले भनिन्, ‘क्षेत्र, सम्प्रदाय र दलगत स्वार्थभन्दा माथि उठेर जनता र देशको सर्वोपरि हितमा अघि बढ्न यो संसद प्रयत्नशील रहनेछ भन्ने मेरो विश्वास छ ।’
राजनीतिक हिसाबमा सत्ता पक्ष र प्रतिपक्ष हुने भए पनि संदनमा मतदाता र जनताको आशा र भरोसाको सम्मान गर्नुपर्ने उनले बताइन् । भण्डारीले अब देश कुनै पनि प्रकारका हिंसामा जान नहुने समेत बताइन् । संघीय संसद विविधताभित्रको एकताको एक उत्कृष्ट उदाहरण भएको उनको भनाइ थियो ।
संघीय संसद भवन पुग्दा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्ण बहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, सरकारका मन्त्रीहरु लगायतले स्वागत गरेका थिए ।
उनले संविधानले उल्लेख गरेअनुसारका सबै तहका निर्वाचन सम्पन्न हुनु भनेको संविधान पूर्ण कार्यान्वयनको चरणमा रहेको बताइन् । निर्वाचन सकिएपछि सबै तहमा सरकार बनिसिकेकाले अब देशमा राजनीतिक संक्रमणकाल अन्त्य भएको उनको भनाइ थियो । अब देश विकासको सबै ढोका खुलेको राष्ट्रपति भण्डारीको भनाई छ ।
राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको टुकडीले सलामी दिएको थियो ।















प्रतिक्रिया