
काठमाडौँ, १४ चैत । सरकारले २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको छ । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ । अब ल्होसार, क्रिसमस, छठ, माघीजस्ता बिदा सम्बन्धित समुदाय, धर्मावलम्बी या भेग विशेषलाई मात्र दिइनेछ ।
राज्यमन्त्री गोकुल बाँस्कोटाका अनुसार गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १० छ । यस वर्ष कटौती भएका बिदा १२ दिन छन् । विसं २०७४ को तुलनामा २०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन् ।
अब संविधान दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाइनेछ ।
कुन-कुन बिदा कटौती भए ?
गणतन्त्र दिवस, लोकतन्त्र दिवस, राष्ट्रिय एकता दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस । दसैंको घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमा, रामनवमी, श्रीकृष्ण जन्माष्टमी, जनैपूर्णिमा, ऋषिपञ्चमी ।
३६ हजार कर्मचारीको दरबन्दी स्वीकृत
मन्त्रिपरिषद् बैठकले केन्द्र, प्रदेश र स्थानीय तहमा रहने कर्मचारीको दरबन्दी र संरचना पनि स्वीकृत गरेको छ । अब महानगर, उपमहानगर, नगर र गाउँपालिकाका लागि ३६ हजार कर्मचारी हुनेछन् ।
सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले कर्मचारीको दरबन्दी र संरचना स्वीकृत गरेको हो ।















प्रतिक्रिया