२ कार्तिक २०८३, सोमबार

३० वर्षपछि तुलसा थापा माईती गाउँ आउँदा….

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

  –प्रकाशचन्द्र भट्टराई
तनहुँ, १४ चैत । तुलसा थापा नेपाली राजनीति र महिला आन्दोलनको लागि खासै नौलो नाम हैन । देशबासीले तुलसालाई नेकपा एमालेका उपाध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री बामदेव गौतमकी धर्मपत्नी तथा अनेमसंघकी नेतृको रुपमा चिनेका छन् भने तनहुँबासीले उनलाई तनहुँकी चेलीको रुपमा चिनेको छ । यिनै तनहुँकी चेली तुलसा गत चैत ११ गते ३० वर्ष पछि आफ्नो माईती गाउँ देवघाट गाविस–२ बैदी पुग्दा निकै भावुक बनिन् ।

२०४४ सालमा बुवा पहलसिंह थापाको निधन भएपछि बैदी पुगेकी थापा त्यस यता माईती गाउँ जाने अवसर पाएकी थिईनन् । पार्टी काम तथा पारिवारिक जिम्मेवारीको कारण यस अघि माईती गाउँ आउन नपाएको तुलसाले बताईन् । हाल प्रतिनिधिसभाकी सांसद समेत रहेकी थापालाई माईती गाउँ आउने साईत देवघाट गाउँपालिकाले जुराई दिएको थियो । देवघाट गाउँपालिकाको आयोजनामा देवघाट–२ क्राँदिपमा आयोजना गरिएको पुर्ण सरसफाई तथा पर्यटन महोत्सवको समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा एमाले नेतृ थापा आफ्नो माईती गाउँ आएकी हुन् ।

तुलसाको विवाह २०३१ सालमा एमाले नेता गौतमसँग भएको थियो । भुमिगतकालमै रुपन्देहीबाट विहे भएको कारण तुलसा त्यसपछि पनि केही वर्ष माईती आउन पाईनन् । एकैचोटी २०४४ सालमा वुवाको निधन भएपछि माईती पुगेको थापाले बताईन् । आमा भिमकुमारीको भने एक वर्ष अघि २०४३ सालमा निधन भएको थियो ।

‘एक पटक जसरी पनि माईती गाउँ पुग्छु भन्ने अठोट लिएको थिएँ’ उनले भनिन्, ‘गाउँपालिकाले कार्यक्रम बनाएर निम्ता गरेपछि झन सजिलो भयो ।’ ३० वर्ष पछि आफु जन्मेको गाउँ आउँदा मन निकै भावुक भएको थापाले बताईन् । ‘आफु जन्मेको ठाउँ, खेलेको ठाउँ र हुर्कको ठाउँमा पुग्दा मन निकै भावुक भयो’ उनले भनिन् ‘अहिले आफु स्वयं राज्यको नीति निर्माणको तहमा पुगेको हुँदा अव माईती गाउँको विकासमा पनि ध्यान दिन्छु ।’

उनले थपीन् ‘जुन ठाउँले मलाई जन्मायो र हुर्कायो त्यही ठाँउको विकासमा योगदान गर्न पाए आफुलाई भाग्यमानी सम्झन्छु ।’ आफुले छोड्दा र अहिले गाउँको विकासमा खासै फरक नभएको भन्दै उनले सडक निर्माण बाहेक अन्य कुरा पहिलेको जस्तै लागेको बताईन् । अब गाउँमा शिक्षा, स्वास्थ्य र सरसफाई जस्ता सचेतनाका कुराहरु पु¥याउनु पर्ने भन्दै उनले यसको लागि गाउँपालिकासँग समन्वय गर्ने पनि बताईन् ।

देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बैदीकी चेली एमाले नेतृ तथा सांसद तुलसा थापाको आगमनले आफुहरुलाई पनि हौसला मिलेको बताए । अध्यक्ष थापाले सांसद थापाको आगमनले गाउँलेहरु निकै खुसी भएको भन्दै बैदीको विकासको लागि सांसद थापासँग समन्वय गरि काम गर्ने बताए ।