धनगढी, ३ पुस । यहाँका एक व्यापारीको घरबाट अपरिचित दुई महिलाले टुनामुना गरेर घरको भूत प्रेत हटाइदिन्छु भन्दै ठूलो परिमाणका सुनका गरगहना लुटेका छन् ।
स्थानीय व्यापारी गोपाल हमालकी श्रीमती र छोरीलगायतलाई भ्रममा पारी झन्डै ५२ तोला सुनका गरगहना लुटिएको भन्ने जाहेरी जिल्ला प्रहरी कार्यालय कैलालीमा बुधबार परेको प्रहरी निरीक्षक सूर्यबहादुर चन्दले बताउनुभयो ।
घरमा आएका दुई महिलाले ‘घरमा भूत प्रेत भएकाले नै अशान्ति भएको छ, टुनामुना गरेर ठीक पारिदिन्छु, यो कुरा आफ्ना श्रीमान्सहित कुनै पनि पुरुषलाई नभन्नु’ भन्दै हमालकी श्रीमती शारदालाई घरका सबै गरगहनासहित चामलको पोको पार्न लगाएर घरमै राख्न लगाइएकामा पोकोभित्र ढुङ्गा फेला परेको बताइएको छ ।
ती अपरिचित महिलाले गरगहना गायब गर्ने योजना गएको मङ्सिर २६ गतेबाट बनाएको बताइएको छ । गायब भएको भनिएको गरगहनाको खोजी र अनुसन्धान कार्य सुरु गरिएको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा प्रहरी उपरीक्षक चन्दले अपराध अनुसन्धान प्रभावित हुने भन्दै थप जनाकारी दिन मान्नु भएन ।
गरगहना लुटिएको भन्ने विषयमा बुझ्न खोज्दा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यसमेत रहेका गोपाल हमालले टेलिफोन ‘रिसिभ’ गर्नुभएन । रासस















प्रतिक्रिया