काठमाडौँ, १४ चैत । नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा बिस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका वडा नम्बर ३ गमलाडाँडा र सोही गाउँपालिकाको वडा नम्बर २ ल्होमा यही चैत्र ७ गते टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको टेलिकमका प्रवक्ता प्रतिभा बैद्यले जानकरी दिइन् ।
गमलाडाडाँमा राखिएको बीटीएस टावरवाट उक्त गाउँपालिकाका लाक्पाल, यारुफाँट, जगत, सल्लेरी, भालुवन, पाती, फिदिम लगायत आसपासका अति दुर्गम गाउँका बासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित हुने टेलिकमले जनाएको छ । यस्तैगरी ल्होमा जडान भएको टावरबाट ल्हो, ख्याला, स्यो, लिलगायतका गोर्खाका अति विकट उत्तरी क्षेत्रका बासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित हुनेछन् । यसका साथै मनास्लु क्षेत्रको पदयात्रामा गएका पर्यटकहरु समेत मोबाइल सेवाको उपभोग गरी लाभान्वित हुन सक्ने कम्पनीको भनाइ छ ।
गोर्खा जिल्लाको विकट यी उत्तरी गाउँमा सोलार ब्याट्री राखेर टावर सञ्चालन गरिएको टेलिकमले बताएको छ । दुवै स्थानमा स्याटेलाइट लिंकबाट सञ्चालन हुने गरी जीएसएम मोवाइल सेवा पु¥याइएको हो । ल्होमा समुद्री सतहबाट करिब ३५ सय ६५ मिटर उचाइमा र गमलाडाँडामा १५ सय मिटरको उचाइमा टावर राखेर सेवा प्रदान गरिएको छ ।















प्रतिक्रिया