काठमाडौं, १३ चैत । संकल्प भए सपनाको उडान भर्न कठिन हुँदैन भन्ने प्रमाण हुन्, सशस्त्र प्रहरीका जवान दिनेश सुनार । जिम्न्यास्टिक खेलाडी दिनेशको अर्को परिचय ‘पार्कर दिनेश’ पनि हो ।
पूर्वी पहाडी जिल्ला खोटाङे राजापानीका विर्खबहादुर सुनार र रीता सुनार छोरा दिनेशले जिम्न्यास्टिक खेलमा रूचि त्यतिबेला राखे जतिबेला उनी गाउँमा बाख्रा चराउन जाँदा बगरमा उल्टि जम्प हान्थे । सशस्त्र प्रहरीका तत्कालिन प्रमुख सनत बस्नेतले उठाएर हलचोक पुराएपछि दिनेश जागिरे भए । तर, उनमा रहेको प्रतिभाले ठाउँ पाउला कि नपाउला भन्ने चिन्तामा थिए ।
उनी परिवारको मात्र होइन, गाउँ र देशको आशाका केन्द्रको पात्र बनिदिए । उनको कला हेर्दा सानो छ तर असामान्य छ । पहाडका गोरेटो र बगरमा उफ्रिने, उल्टिने दिनेश त्यहि निरन्तरताको परिशिष्ट बोकेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भए । त्यहि नामले उनी दुई महिना तालिमका लागि अमेरिका पुगेर फर्किएका छन् ।
भन्छन्,‘एशियामा चीन र कोरियाबाहेक नेपालबाट मै थिएँ । नेपालको नाम नजान्नेको भिडमा मैले माया जोडेर फर्किएको छु ।’

सशस्त्र प्रहरी संगठनभित्र उनलाई एउटा अब्बल ‘पार्कर’ भनिन्छ । पार्कर जिम्न्यास्टिकको परिस्कृत नाम हो । दिनेश यति तिक्ष्ण छन् कि उनको तुलना सम्भवतः दक्षिण एशियामै कसैसँग हुँदैन । रबर जस्तो छ उनको ज्यान । जता खुम्चाएपनि खुम्चिने प्रकारको ।
पहाडका गोरेटो र बगरमा उफ्रिने, उल्टीने दिनेश त्यहि निरन्तरताको परिशिष्ट बोकेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउन सफल भए
पार्कर थालेको ९ वर्ष पुग्यो, सशस्त्रमा काम थालेको ७ वर्ष । उनी जागिरे हुनुपूर्व नै हलचोकमा ल्याइएका थिए । उनको जिम्न्यास्टिक देखेर तत्कालिन सशस्त्र प्रहरी बस्नेतले खोटाङबाट टपक्क टिपे । ‘मेरो जीवनमा आम्दानीको स्थायी बाटो बनाइदिनुभयो र मेरो कलालाई दुनियाँमा पुराउनका सशस्त्रका अन्य अफिसरले सहयोग गर्नुभयो’, उनी थप्छन्,‘अहिले गिनिज बुकमा नाम लेखाउनका लागि पनि संगठनको ठूलो साथ छ । अमेरिकाको तालिम लिएर फर्किन पनि ठूलो सहयोग छ ।’
वर्ल्ड फ्रि रनिङ पार्कर फेडेरशनले निम्तोमा उनी अमेरिकाको फ्लोरिडा पुगेका थिए । वर्ल्ड च्याम्पियनसीपमा सहभागिताको तयारीका लागि पुगेका थिए । विश्वका विभिन्न मुलुकका अब्बल खेलाडीसामु उनले सुखद प्रदर्शन गरे । ८० जनामा उत्कृष्ट ८ मा परे, उनी । ‘हामीकहाँ जिम्न्यास्टिक र पार्करिङका लागि सुविधा छैन, त्यसको व्यवस्था गतिलो छैन । यद्यपि मैले प्रयास गरेको छु ।’, उनी भन्छन्,‘विश्वका धनी देशका अन्य खेलाडीजस्तो तालिम पाउने हो भने नेपालको नाम अझ माथि राख्न सकिने देखेको छु ।’
भन्छन्,‘यति गरे मेरो देशको नामलाई विश्वमा चिनाउने एउटा आधार बन्न सकेको छु । अझ स्पर्धाहरूमा देशलाई उँचो बनाउने रहर छ ।’
उनको कला नेपाली फिल्ममा पनि बिकेको थियो । हवल्दार सुन्तली, हँसिया, किस्मत २ जस्ता फिल्ममा उनले स्टन्ट म्यानको भुमिका निर्वाह गरिसकेका छन् । उनको यहि कलाका कारणले फिल्मनगरीमा पनि उनको माग बढ्दो छ । २ वर्षसम्म अनवरत अभ्यास गरेपछि दिनेशको माग कम छैन ।
‘मस्ट ट्विस्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा उनले गिनिज बुक अफ वर्ल्ड रेकर्ड दर्ता गराउन सफल भए । यो विषयमा अहिलेसम्म गिनिजबुकमा कसैले पनि नाम दर्ता गराएका छैनन् ।

‘न्युनतम १५ पटकसम्म गर्नुपर्ने गिनिजबुकमा उल्लेख छ, मैले १८ पटकसम्म गरेर देखाएँ’, गिनिज बुकको प्रमाणपत्र हातमा देखाउँदै भन्छन्,‘यति गरे मेरो देशको नामलाई विश्वमा चिनाउने एउटा आधार बन्न सकेको छु । अझ स्पर्धाहरूमा देशलाई उँचो बनाउने रहर छ ।’
जिम्न्यास्टिक शरिरलाई जोखिममा राखेर गरिने काम हो । दुर्घटना भए जीवन नै खतरामा पर्ने भएपनि उनी डराएनन् । भन्छन्, ‘सुरक्षित ठाउँ र कन्फिडेन्सले काम गर्छ । आत्मविश्वास बलियो बनाएर यो यात्रामा अघि बढेको छु ।’ उनको सहयात्रामा श्रीमति शर्मिला सुनारले कहिले रोकिनन् । बरू, अघि बढ्ने हौसलामात्र दिइन् । रेसलर बहिनी अस्मिता, काका सुवास, भाई सुनेसले दाईको यो जोखिमपूर्ण कामलाई विश्वमाझ लैजानका लागि हौसाए । ‘परिवारको पूरै सहयोग र साथ छ । म यहि कुराले पनि उत्तोलित भएको छु । बाहिर पनि मलाई साथ दिनेमात्र भेटेको छु ।’















प्रतिक्रिया