लण्डन, १३ चैत । विश्वकप फुटबलको तयारीमा रहेको पोर्चुगल मैत्रीपूर्ण खेलमा नेदरल्याण्डससँग पराजित भएको छ ।
जेनेभामा सोमबार राति भएको खेलमा स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको टिम पोर्चुगल नेदरल्याण्डससँग ३–० ले पराजित भएको हो ।
पोर्चुगलले पहिलो हाफमा नै तीन गोल खाएको हो । दोस्रो हाफमा १० खेलाडीमा सीमित भए पनि पोर्चुगलले गोल भने खाएन । ११ औँ मिनेटमा मेम्फिस डिपेइले गोल गर्दै घरेलु टोलीलाई सुरुवाति अग्रता दिलाए ।
३२ औँ मिनेटमा रायन बाबेलले गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयमा विर्गिल भान डिजेकले गोल गर्दै अग्रता ३–० मा पुर्याए ।
दोस्रो हाफमा दुवै तर्फबाट गोल भएन तर कावाको क्यानसेलो ६१ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा सीमित भयो ।
कप्तान रोनाल्डोले पछिल्ला खेलमा लगातार गोल गर्दै आएका थिए । तर यो खेलमा उनले गोल गर्न सकेनन् । उनले पछिल्ला ८ गोलमा हरेकमा गोल गरेका थिए । तर यो नवौँ खेलमा भने गोल गर्न सकेनन् ।
रोनाल्डो ६८ औँ मिनेटमा मैदानबाट बाहिरिए । उनको ठाउँमा जोएओ माउन्टिन्हो आए । रोनाल्डोले पछिल्ला खेलमा रियल मड्रिडका लागि १७ तथा पोर्चुगलका लागि गएको शुक्रबार भएको इजिप्टसँगको खेलमा दुई गोल गरेका छन् ।
रुसमा हुने विश्वकपमा पोर्चुगल समूह ‘बी’ मा रहेको छ । पोर्चुगल रहेको समूहमा स्पेन, मोरक्को र इरान छन् । तर नेदरल्याण्डस भने विश्वकपमा छनौट हुन असफल भएको छ ।
राति नै भएका अरु खेलमा बुल्गेरियाले काजखस्तानलाई २–१, फिनल्याण्डले माल्टालाई ५–० तथा नर्वेले अल्बानियालाई १–० ले हरायो । – एजेन्सी















प्रतिक्रिया